अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०३ | Colorodo: 14:18

अमेरिकामा कोरोना संक्रमणबाट फेरि एकैदिन १ हजार ९ सयको मृत्यु, संक्रमित झण्डै ८ लाख

बिआरटीनेपाल २०७७ वैशाख ८ गते २२:३५ मा प्रकाशित

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण केही दिन घटेको दैनिक मृत्यु संख्या फेरि बढेको छ । सोमबार एकै दिन त्यहाँ कोरोना भाइरसका कारण १ हजार ९३९ को मृत्यु भएको छ । यससँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४२ हजार ५१४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरसका संक्रमित संख्या ७ लाख ९२ हजार ७५९ पुगेको बताईएको छ सोमबार मात्र त्यहाँ २८ हजार १२३ नयाँ संक्रमित फेला परेका छन् । ७२ हजार ३८९ जना निको पनि भइसकेका छन् ।

आइतबार र शनिबार अमेरिकामा अघिल्ला दिनको तुलनामा दैनिक मृत्यु संख्या घट्दो रूपमा देखिएको थियो । आइतबार त्यहाँ कोरोना संक्रमणका कारण १ हजार ५६१ जनाले ज्यान गुमाएका थिए । यसअघि अमेरिकामा कोरोना संक्रमणबाट दैनिक मृत्यु संख्या (अप्रिल १५ मा) २ हजार ६१८ सम्म पुगेको थियो । शनिबार त्यहाँ १ हजार ८६७ जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए ।

त्यहाँको सबैभन्दा बढी प्रभावित राज्य न्यूयोर्कमा मात्रै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १८ हजार ९२९ पुगेको छ । सोमबार मात्र त्यहाँ ६३१ जनाको मृत्यु भएको छ भने ४ हजार ८७९ नयाँ संक्रमित फेला परेका छन् । आइतबार त्यहाँ एकै दिनमा ६२७ जनाको मृत्यु भएको थियो भने ६ हजार १७४ नयाँ संक्रमित थपिएका थिए । यससँगै न्यूयोर्कमा मात्रै कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार नाघेको छ ।

अर्काे बढी प्रभावित राज्य न्यूजर्सीमा कोरोना संक्रमितको संख्या ८८ हजार ८०६ पुगेको छ। त्यहाँ ४ हजार ३७७ जनाले ज्यान गुमाएका छन् भने १७५ जनाको सोमबार मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू