अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५० | Colorodo: 14:05

ध्रुवचन्द्र गौतमलाई २०७७ सालको वसुन्धरा श्री पुरस्कार र सरुभक्तलाई २०७७ सालको मान श्री पुरस्कार

बिआरटीनेपाल २०७७ वैशाख ६ गते १८:४४ मा प्रकाशित

ध्रुवचन्द्र गौतमलाई २०७७ सालको वसुन्धरा श्री पुरस्कार तथा सरुभक्तलाई २०७७ सालको मान श्री पुरस्कार प्रदान गरिने भएको छ । वसुन्धरा—मान प्रज्ञा प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा वि.सं २०७७ साल वैशाख ६ गते बसेको विशेष बैठकले उक्त निर्णय गरेको हो ।

वैशाख ६ गते वसुन्धरा—मान प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव कृसु क्षेत्री द्वारा प्रेषित छापा विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ ।

उत्कृष्ट आधुनिक कथा, उपन्यास र नाटकहरूको सिर्जनाद्वारा नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभव शाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी विश्व समुदायमा नेपाली भाषा र साहित्यको स्थान र पहिचान उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्नु हुने वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतमलाई वि.सं.२०७७ सालको वसुन्धरा श्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

पुरस्कारको साथमा नगद ७५ हजार रुपिंया सहित सम्मान पत्र अर्पण हुनेछ । त्यसै गरी प्रज्ञा प्रतिष्ठानको उक्त विशेष बैठकले आधुनिक नेपाली कविता, मुक्तक, गीत, नाटक र उपन्यासको सिर्जनाद्वारा नेपाली साहित्यलाई स्तरीय, शालीन र समृद्ध बनाई नेपाली वाङ्मयको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गरी नेपाली साहित्यमा आफ्नो अलग्ग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गर्नुहुने चर्चित साहित्यकार सरुभक्तलाई वि.सं. २०७७ सालको मान श्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। पुरस्कारको साथमा नगद ५० हजार रुपियाँसहित सम्मान पत्र अर्पण हुने छ।

वि.सं. २००१ पुस २ गते वीरगन्जमा जन्मनु भएका विशिष्ट साहित्यकार डा. ध्रुवचन्द्र गौतमका अन्त्यपछि, बालुवामाथि, डापी, कट्टेल सरको चोटपटक, अलिखित, निमित्त नायक, एक सहरमा एक कोठा, स्व. हिरादेवीको खोज, दुबिधा, अग्निदत्त+अग्निदत्त, फूलको आतङ्क, तथाकथित,बाढी, उपसंहार अर्थात् चौथो अन्त्य, मौन, भीमसेन-४ को खोजी र घुर्मी (उपन्यास), आकाश विभाजित छ, देहमुक्त, अवतार विघटन र ज्यागा (संयुक्त उपन्यास), अँध्यारो द्वीपमा, संरक्षक, कथा दृष्टि, गौतमका एकाउन्न कथा, गौतमका प्रतिनिधि कथा, जेलिएको र साठी वर्षमा हृदयाघात (कथासङ्ग्रह) र त्यो एउटा कुरा, भष्मासुरको नलिहाड र श्री कृष्ण लीला (नाटक) कृतिहरू प्रकाशित भएका छन् ।

वि.सं. २०१२ मङ्सिर १२ गते पोखरामा जन्मनु भएका चर्चित साहित्यकार श्री सरुभक्तका बन्द खामभित्र र हजार बुद्धहरू (मुक्तकसंग्रह) ,बोक्सीको आह्वान र घोषणापत्र, कवि, प्रेमी र पागल, प्रयोगशालाभित्र र इथर समय (कवितासंग्रह), मनभरि माटोभरि (गीतसंग्रह), ज्यानमारा, कापुरुष, कुरुप मसिहा र झुमा (खण्डकाव्य), एक अभिनवको आत्मकथा, छोरी ब्रह्माण्ड, र यामागल (कथासङ्ग्रह), युद्ध: उही ग्यासच्याम्वरभित्र, इतिहासभित्रको इतिहास, शिशिरका अन्तिम दिनहरू, ईथर, एसोधम्मो सनन्तनो, गाउँघरका नाटकहरू, गाउँको कथा यस्तै हुन्छ है, बालबालिकाहरूको नाटक, निमावीय, असमय अमौसम, जस्तो दन्त्यकथा, सिरुमा रानी (नाटकसंग्रह) र पागल बस्ती, समयत्राशदी, तरुनी खेती, चुली, अँध्यारो कोठा र प्रतिगन्ध (उपन्यास) प्रकाशित भएका छन् ।

यसअघि वसुन्धरा श्री पुरस्कारद्वारा कविवर श्री माधवप्रसाद घिमिरे (वि.सं.२०५७), वरिष्ठ उपन्यासकार श्री दौलतविक्रम विष्ट (वि.सं. २०५८), वरिष्ठ कथाकार तथा नाटककार श्री गोविन्दबहादुर मल्ल ‘गोठाले’ (वि.सं. २०५९) वरिष्ठ समालोचक श्री यदुनाथ खनाल (वि.सं. २०६०), वरिष्ठ आख्यानकार श्री मदनमणि दीक्षित (वि.सं. २०६१), वरिष्ठ उपन्यासकार श्री डायमनशमशेर राणा (वि.सं. २०६२),वरिष्ठ साहित्यकार श्री इन्द्रबहादुर राई (वि.सं. २०६३), वरिष्ठ कवि श्री मोहन कोइराला (वि.सं. २०६४), वरिष्ठ संस्कृतिविद् श्री सत्यमोहन जोशी (वि.सं. २०६५), वरिष्ठ समालोचक श्री कृष्णचन्द्रसिंह प्रधान (वि.सं.२०६६), वरिष्ठ कवि श्री वैरागी काइँला (वि.सं. २०६७), वरिष्ठ कवि श्री धर्मराज थापा (वि.सं. २०६८), वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठी (वि.सं. २०६९), वरिष्ठ चित्रकार श्री शशी शाह (वि.सं. २०७०), वरिष्ठ कलाकार श्री हरिप्रसाद रिमाल (वि.सं. २०७१), वरिष्ठ सङ्गीतकार श्री अम्वर गुरुङ (वि.सं. २०७२), वरिष्ठ आख्यानकार श्री लीलबहादुर क्षेत्री (वि.सं. २०७३), वरिष्ठ समालोचक प्रा. डा. तारानाथ शर्मा (वि.सं. २०७४) वरिष्ठ गायक श्री प्रेम ध्वज प्रधान (वि.सं. २०७५) र वरिष्ठ कलाकार श्री मदनकृष्ण श्रेष्ठ (२०७६) लाई प्रदान गरेको छ ।

त्यसै गरी प्रज्ञाप्रतिष्ठानले यसअघि मान श्री पुरस्कारद्वारा कवि तथा गीतकार श्री दिनेश अधिकारी (वि.सं. २०५७), साहित्यकार श्री विनय रावल (वि.सं २०५८), नाटककार श्री अशेष मल्ल (वि.सं २०५९), गजलकार श्री ज्ञानुवाकर पौडेल (वि.सं. २०६०), साहित्यकार श्री मञ्जुल (वि.सं. २०६१), कथाकार श्री मधुवन पौडेल (वि.सं. २०६२), कवि श्री विष्णुविभु घिमिरे (वि.सं. २०६३), कवि श्री कृष्ण भूषण बल (वि.सं. २०६४), कथाकार श्री भुवन ढुङ्गाना (वि.सं. २०६५), कथाकार श्री सनत रेग्मी (वि.सं. २०६६), कवि श्री विजय बजिमय (वि.सं. २०६७), समालोचक डा. रामदयाल राकेश (वि.सं. २०६८), कथाकार डा. वेञ्जु शर्मा (वि.सं. २०६९), चित्रकार श्री किरण मानन्धर (वि.सं. २०७०), कलाकार श्री नीर शाह (वि.सं. २०७१), गायक श्री दीप श्रेष्ठ (वि.सं. २०७२), साहित्यकार श्री दुर्गाप्रसाद श्रेष्ठ (वि.सं. २०७३), साहित्यकार तथा सञ्चार कर्मी श्री खगेन्द्र नेपाली (वि.सं. २०७४) गायक श्री भक्तराज आचार्य (वि.सं. २०७५) र कलाकार श्री हरिवंश आचार्य (२०७६) लाई प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू