अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४० | Colorodo: 06:55

कोरोना सङ्क्रमणको तेस्रो चरणमा जानबाट देशलाई बचाऔँ

बिआरटीनेपाल २०७७ वैशाख १ गते १२:०३ मा प्रकाशित

नेपालमा कोरोना संक्रमण सिद्धान्तत: तेस्रो चरणमा प्रवेश गर्दैछ । यो चरण रोक्नको लागि फरक ढङ्गले व्यवहार तथा काम गर्नु अत्यावश्यक छ । असल सरकार, असल स्थानीय निकाय तथा असल नागरिक बन्नको लागि हामी सबै आफ्नो ठाउँमा जिम्मेवार बनौँ ।

– हरेक स्थानीय निकायले उच्च ज्वरो, सुख्खा लहरे खोकी तथा सास फेर्न गाह्रो भएका व्यक्तिलाई अनिवार्य २-३ हप्ता क्वारेन्टाइनमा राख्ने । परीक्षण पर्खेर नबस्ने ।

– RDT अर्थात् किटले ३० % गलत रिपोर्ट देखाउन सक्छ । तसर्थ माथिका लक्षण छन् तर किटमा नेगेटिभ आयो भने पनि २-३ हप्ता क्वारेन्टाइनमा बसौँ । त्यो फल्स नेगेटिभ हुनसक्छ ।

– RDT पोजेटिभ आयो तर लक्षण देखिएन भने पनि क्वारेन्टाइनमा बसौँ ।
– PCR मा पोजेटिभ देखिएमा आइसोलेसनमा राखौँ । लक्षण देखिएको छ तर PCR नेगेटिभ देखिएमा होम क्वारेन्टाइनमा बसौँ ।
– हरेक स्थानीय निकायले आफ्नो पालिकामा कोरोना अस्पताल / ज्वरो तथा रुघा क्लिनिक तोकौँ, निर्माण गरौँ ।

– हरेक प्रदेशले प्रत्येक जिल्ला सदरमुकामका कोरोना अस्पताल तथा जनरल अस्पताल तोकेर तदनुसार सेवा सञ्चालन गरौँ । निजी अस्पतालमा बाध्यकारी व्यवस्था गरौँ ।

– स्वास्थ्य कर्मीलाई गुणस्तरीय PPE लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएर सुरक्षित तथा उच्च मनोबलयुक्त बनाऔँ ।

– अबका दिनहरूमा कोरोना सङ्क्रमणको सङ्ख्या बढ्दै जानेछ । भौतिक तथा मानसिक रूपमा तयार बनौँ । कोरोनाको मृत्युदर निकै कम छ । हामी कोरोनासँग लड्न सक्छौँ ।

– लक डाउनलाई कर्फ्युको स्तरमा कडा गरौँ । बिहान, बेलुका र भित्री बस्तीमा प्रहरी परिचालन बढाउने व्यवस्था गरौँ । उल्लङ्घन गर्नेलाई फाइनको व्यवस्था गरौँ ।

– आइसोलेसन र क्वारेन्टाइनबाट मान्छेहरू भाग्ने क्रम रोकिएको छैन, त्यसैले त्यस्ता केन्द्रमा प्रहरी खटाऔँ । क्वारेन्टाइन सेन्टरलाई बसौँ बसौँ लाग्ने बनाऔँ । जेलजस्तो नबनाऔँ ।

– हामी नागरिकले राजनैतिक विवाद गरेर सामाजिक सञ्जाल प्रदूषित नगरौँ । सबै जना जनजागरणमा लागौँ । भ्रष्ट्राचार / ढिलासुस्ती जहाँ हुन्छ, खबरदारी गरौँ । यो राजनीति गर्ने समय हैन, आफू बाँच्ने र आफन्तलाई बचाउने समय हो ।

– निम्न आय भएका व्यक्तिलाई सबैले सहयोग गरौँ । कसैले खान नपाए, बस्न नपाए, बिरामी भए नजिकको वडा कार्यालय वा प्रहरी चौकीमा गएर आफ्नो समस्या राखौँ । तर धेरै दिन हिँडेर गाउँ जाने जोखिम नबोकौँ ।

– भ्रष्ट्राचार तथा कालोबजारी गर्ने जो सुकै होस्, तत्काल बर्खास्त तथा कारबाही गरौँ ।

– १ वर्षको लागि दैनिक उपभोग्य सामान तथा औषधिको स्टक प्रत्येक प्रदेशमा राखौँ ।

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञको फेसबुकबाट 

प्रतिक्रिया