अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३७ | Colorodo: 19:52

प्रधानमन्त्री कार्यालयको फेसबुक पेज डिलिट

बिआरटीनेपाल २०७६ चैत २७ गते २१:२२ मा प्रकाशित

काठमाडौँ, २८ चैत । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक फेसबुक पेजबाट डिलिट गरिएको छ । पेज कसले डिलिट गरेको केही भनिएको छैन । डिलिट भएको पेजबाट बिहीबार ‘लकडाउनका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने खोज्नु भएका बासिन्दाहरूलाई मध्यनजर गर्दै आज बसेको उच्चस्तरीय समितिको बैठकले भोलि र पर्सी काठमाडौँ उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरेको छ’ भनेर सूचना जारी भएको थियो ।

त्यसको केही बेरमा सोही पोस्ट तल अपडेट भर्न्दै अर्को जानकारी थपिएको थियो – ‘स्थानीय तथा प्रदेश स्तरका सरकारहरूले मान्यता नदिएको हुनाले भोलि र पर्सी काठमाडौँ उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय फिर्ता गरिएको छ। ‘ सर्वसाधारणलाई सामाजिक सञ्जालबाट सहज जानकारी बाँड्न प्रधानमन्त्री कार्यालयले खोलेको फेसबुक पेजबाट छिनको छिनमै आएको फरक फरक जानकारीका कारण सामाजिक सञ्जाल प्रयोगकर्तामा द्विविधा उत्पन्न भइसकेको थियो ।

प्रधानमन्त्री कार्यालयको फेसबुक पेजबाट केही बेरमा यो पोस्ट हट्यो । पोस्ट भएको केही बेरमै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको फेसबुक पेज नै निष्क्रिय बनेको छ । ओपीएमसीएमएनपी नामक युजरनेम रहेको फेसबुक पेज बिहीबार साँझदेखि निष्क्रिय छ। प्रधानमन्त्री कार्यालयजस्तो संवेदनशील निकायले सूचना प्रवाहमा गरेको लापरबाहीलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिले काठमाडौँमा अलपत्र परेका व्यक्तिहरूलाई घर जान सहज बनाउन शुक्रवार र शनिवार यातायात खुला गर्ने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा प्रधानमन्त्री कार्यालयको फेसबुक पेजमा पोस्ट अपडेट गरिएको स्रोतको दाबी छ । प्रधानमन्त्री कार्यालयको फेसबुक पेज कसले चलाउँछ, यसमा जानकारीहरू कसले पोस्ट गर्छन् भन्ने विषय बाहिर आएको छैन । उच्च स्तरीय समितिका संयोजक ईश्वर पोखरेल आफैँले सञ्चार माध्यममा शुक्रवार र शनिवार यातायात खुला गर्ने भनी आएको समाचार गलत भएको फेसबुकमा लेखेका छन् । डिलिट भएको फेसबुक पेज फेसबुकले मान्यता दिएको पेज हो । दैनिक नेपालबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू