अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१६ | Colorodo: 16:31

सिंहदरबार फेरि जल्नु पर्छ

राम कुमार सुबेदी, अमेरिका २०७६ चैत २७ गते २०:५३ मा प्रकाशित

पर्खाल अग्लो भएछ
भित्र के छ
पाक्दै छ
देखिँदैन
प्वाल बाक्लो भएछ
बाहिर के हुँदैछ
सुन्दैन
देख्दैन
कालो सिसाले
फुटेको दर्पण
देख्दैन
रातो टालोले
नाङ्गो जीवन
ढाक्दैन
लुट छ
अहँ
भन्न पाइँदैन
छुट उसलाई छ
हामीलाई छ?
सोध्न पाइँदैन
कथा ऊ सुनाउँछ
कथा हो?
सोध्न हुन्न
अरूको व्यथा
उसले सुन्न
चाहे मात्रै
सुनाउनु पर्छ
उसले सुन्न
सक्नेसम्म
सुनाउनु पर्छ
सपना देखाउँछ
बिपना हो?
सोध्न मिल्दैन
के बोल्छ बिहान
अत्तो हुँदैन
के गर्छ दिउँसो
पत्तो हुँदैन l

लेख्छ
मेट्छ
फेरि लेख्छ
फेरि मेट्छ
सुधार्छ
उधार्छ
उचाल्छ
पछार्छ
लाज कति पनि छैन
जति पनि पचाउँछ
कामकाज केही देखिँदैन
आवाज ठुलो बनाउँछ
उसले भनेको
सुन्नै पर्छ
तिमीले भन्दा
उँग्दै गर्छ
नत बाहिरी
इन्द्रिय
काम लाग्छ
नत भित्री
जनेन्द्रीय
पत्ता लाग्छ
सुतेको छ भनौँ
सुतुरमुर्ग हैन
उठेको हुँ भन्छ
कुम्भकर्णको शरीर छ l

अति भो अतिचार
यो सिंहदरबार
अब सिंहदरबार
संहार भो नर संहार
नत सुधार हुन्छ
नत सम्भार हुन्छ
नारायणहिटी भत्कियो
यो राजदरबार भो
नत बोल्छ
नत उसलाई पोल्छ
अब
थेग्न सकिन्न
यो भुईँचालोले भत्केको
भुईँफुट्टाहरूको राजदरबार
कित भुईँचालोबाट नै
भासिनु पर्छ
आगलागीले आधा जलेको
आदाहरुको सिंहदरबार
कित जनताको ज्वालोले
समूल नासिनु पर्छ
किनकि यो
सिंहदरबारको
कस्तो अहङ्कार
नत सुधार हुन्छ
नत सम्भार हुन्छ
किनकि यो
अर्को राजदरबार
नत जनताको
लागि बोल्छ
नत जनतालाई
पोल्दा
नत उसलाई पोल्छ
अतः सिंहदरबार ढल्नु फेरि पर्छ
कित सिंहदरबार जल्नु फेरि पर्छ ।

प्रतिक्रिया