अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३७ | Colorodo: 17:52

कोरोना भाइरसका कारण बेलायतमा थप ३ नेपालीको मृत्यु

बिआरटीनेपाल २०७६ चैत २६ गते २२:०२ मा प्रकाशित

बेलायतको लण्डनमा बस्दै आएका एक भुतपूर्व गोरखा सैनिकको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको बुधबार राति लण्डनको नर्थवीक पार्क अस्पतालमा निधन भएको हो ।

तमुधीं युकेको लण्डन शाखाका वरिष्ठ उपाध्यक्ष गुरुङ समाजसेवीका रुपमा चिनिन्थे । करिब दुई हप्तादेखि ज्वरो आएपछि चिकित्सकको सल्लाहअनुसार गुरुङ घरैमा आइसोलेसनमा बस्दै आएका थिए । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आकस्मिक कक्षमा राखी पछि वार्डमा सारिएको थियो । भर्ना गरेको दुई दिनपछि उनको स्वास्थ निकै खराब भएपछि भेन्टिलेटरमा राखिएको थियो ।

लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले मृतक गुरुङको परिवार र सम्बन्धित संस्थालाई निधनबारे जानकारी गराउनुभएको थियो । यसैगरी बेलायतको नटिङहममा बस्दै आएका अर्का पूर्व गोर्खाको पनि बुधबार नै निधन भएको छ । ५८ वर्षीय शिव श्रेष्ठको स्थानीय अस्पतालमा ज्यान गएको हो। केही दिनदेखि घरमै आइसोलेसनमा बस्दै आएका श्रेष्ठलाई श्वासप्रश्वासमा गाह्रो भएपछि बुधबार बिहान अस्पताल भर्ना गरिएको थियो।

एक अर्को समाचारमा जनाईए अनुसार बुधबार अर्का एक नेपालीको पनि निधन भएको छ। परिवार भेट्न नेपालबाट बेलायत गएका अन्दाजी ७६ वर्षका वृद्धको कोरोनाकै कारणबाट मृत्यु भएको उनी निकट पारिवारिक श्रोतले बताएको छ। विगत ४ दिनदेखि उपचाररतः उनको मृत्यु भएको हो ।परिवारको अनुरोधमा उनको परिचय खुलाइएको छैन।

यसअघि बेलायतमा दुई नेपालीको पनि कोरोनाका कारण मृत्यु भइसकेको छ । ६६ वर्षीय लिलाबहादुर राई र ४० वर्षीय प्रशान्त अर्यालको दुई साताअघि निधन भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू