अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०८ | Colorodo: 23:23

मानिस र जनावर बिचको सम्बन्ध – एल एन सुबेदी

एल एन सुबेदी २०७६ चैत २६ गते १३:३१ मा प्रकाशित

प्रोफेसर केन्टको कुरा गर्दा उनी बेलायतको नामुद युनिभर्सिटी लिड्सको वातावरण सम्बन्धी विभागका डिन थिए । उनी मानिस र वातावरण बिचको सम्बन्धको बारेमा विज्ञ प्रोफेसर थिए र उनी जनावरहरूको खोज अनुसन्धान गर्दथे । प्राणी जगतको भलाइ उनको मुख्य सिद्धान्त थियो । केन्ट असाध्यै बौद्धिक, सरल र मानवीय सिद्धान्तका लौह पुरुष थिए । उनीसँग साक्षात्कार भएका मान्छेहरू प्रभावित नभएका कोही पनि भेटिन्नथे । सुने जानेका सबैले केन्ट जस्तो मान्छे हुनुपर्छ भन्थे ।

उनका एउटा छोरा, एउटी छोरी र श्रीमती थिए । श्रीमती एरिजोना लुसी लिड्स कै कानुन विभागकी रजिस्ट्रार थिइन् । उनीहरूको सभ्य, बौद्धिक, सुखी र संस्कार युक्त परिवार थियो । असल मानिसहरूको खुसी भगवनले धेरै दिन रहन दिँदैनन् भने जस्तै एक दिन उनीहरू घुम्नको लागि उत्तरी आयरल्यान्ड जाँदै गर्दा बाटामा दुर्भाग्यवश गाडी दुर्घटनामा पर्‍यो र छोरा, छोरी र श्रीमती पारलौकिक भए । उनी जसो-त्यसो जीवित रहे र चान-चुन एक वर्ष जति अस्पताल बस्नु पर्‍यो । एउटा असल मानिसको खुसी कसरी खोसिँदो रहेछ भन्ने कुरा यो दुर्घटनाले देखायो । पारिवारिक पीडाले विक्षिप्त भएर बाच्नको लागि एउटा सहारा खोजी रहेका थिए । सरकारले उनलाई वृद्ध मानिसहरू बस्ने घरमा राखेर नि:शुल्क उपचार र हेरचाह गर्छु भन्यो, खाने बस्ने सबै प्रबन्ध गर्छु भन्यो । तर केन्टले त्यो प्रस्ताव स्वीकार गरेनन् र भने म अलिक बार सक्रिय जीवन बिताउन चाहन्छु, मेरो आफ्नै घर लन्डनको दक्षिण डार्टफोर्टमा छ र त्यही बसेर अनुसन्धान कार्यमा सक्रिय रहन्छु । लन्डनको मेट्रोपोलिटियन पुलिसको दक्षिणी क्षेत्र हेर्ने सेलले उनको सबै रेखदेख गर्ने सर्तमा उनी आफ्नै घरमा बस्न थाले ।

उनीसँग एउटा शेरु नाम गरेको जर्मन सेफर्ट कुकुर थियो । त्यसले मानिसका भाषा र सङ्केतहरू बुझ्द्थियो । केन्टको घर अगाडि एउटा ठुलो मेथर लर्ड्स नाम गरेको पार्क थियो । त्यहाँ दैनिक हजारौँ मानिसहरू आउँथे र जान्थे। केन्ट पनि त्यही पार्कमा घुम्ने र बस्ने गर्दथे । एक दिन पार्कको छेउमा एउटा सानो हरिणको बच्चा माथिबाट खस्यो र कराउँदै अर्ध मृत अवस्थामा थियो । त्यो एउटा बाजले सिकार गरेर लाँदै गर्दा उसको पन्जाबाट फुत्किएर खसेको थियो । शेरुले त्यसलाई तुरुन्तै समायो । केन्टले शेरुबाट खोसेर छिटो भन्दा छिटो भेट्नेरी अस्पताल पुर्‍याए । डाक्टरहरूले त्यसलाई हतार हतार मलम पट्टी लगाए र इन्जेक्सन दिए । बिस्तारै त्यो हरिणको बच्चा बहुरियो । प्रोफेसर केन्टले त्यो हरिणको बच्चालाई आफ्नो घरमा लिएर जान्छु भने । डाक्टरहरूले दिन मानेनन् । त्यहाँ निकै विवाद पर्‍यो । केन्ट भन्छन्, यो मैले ल्याएको हो त्यसैले मैले लिएर जान पाउनु पर्छ । डाक्टरहरू भन्छन्, यदि तपाईँ यसलाई लानु हुन्छ भने जनावरहरूको अधिकार हनन हुन्छ । यो सबै बन, वातावरण र पशु-पन्छी संरक्षण गर्ने विभागको काम हो । निकै विवाद परे पछि अस्पतालले मेट्रोपोलिटियन पुलिसलाई खबर गर्‍यो । पुलिसहरू आए, तर पुलिसले पनि मुद्दा मिलाउन सकेन र भने, यो मुद्दा जिल्ला अदालतमा जान्छ, त्यहीबाट फैसला हुन्छ । पुलिस सेलले भन्यो, अदालतको फैसला सबैले मान्नु पर्छ । यस कुरामा प्रोफेसर सहमत भए । मुद्दा अदालतमा गयो र बहस पैरवी सुरु भयो । लिड्सका कानुन विभागका विज्ञ र सिनियर एटोर्निहरुले यो हरिणको बच्चा केन्टले लैजान पाउनु पर्छ, किन भने त्यसलाई केन्टले भेटे र उनैले बचाए, त्यसैले उनले लान पाउनु पर्छ ।

अर्का थरी वातावरण विद र सरकारी वकिलहरूले यो जनावरहरूको अधिकारको हनन हो, जनावरहरूले स्वतन्त्र रूपमा बाच्न पाउनु पर्छ, उनीहरूको स्वतन्त्र र स्वछन्द रूपले बाच्ने अधिकार कसैले हनन गर्न पाइँदैन भनेर न्यायमूर्तिहरूसँग दलिल पेस गरे । केन्टका वकिलहरूले मानवीय संवेदना र भावनात्मक सम्बन्ध गाँस्दै भने, केन्ट एक असल मानवीय व्यवहार भएका मानिस हुन् । मृत्युले उनका सबै परिवारका सदस्य खोसेर लागेकाले उनको बाच्ने सहाराको रूपमा यो हरिणको बच्चा मागेका छन् र उनको कामको योगदान र पीडादायक अवस्थालाई हेर्दा श्रीमान् यो हरिणको बच्चा केन्टलाई दिनु पर्छ भने । सरकारी पक्षका वकिलहरूले यदि यो हरिण केन्टले लैजान पाउने हो भने यो जनावरहरूको स्वतन्त्र रूपले बाच्ने अधिकारको बर्खिलाप हुनेछ र अदालतमा गलत नजिर बस्ने छ भनेर बहस गरे । केन्टका वकिलहरूले भने अदालत र अदालतको फैसला माथि प्रश्न गर्न पाइँदैन, बरु चित्त नबुझे पुनरावेदन गर्न भने । अदालतमा तार्किक बहसको निकै चर्का चर्की भयो ।

अन्त्यमा दुवै पक्षका वकिलहरूको दलिल सुनी सके पछि तीन जना न्यायमुर्तिहरुको एउटा बेन्चले त्यो हरिणको बच्चा केन्टको कारुणिक अवस्थालाई मध्यनजर गर्दै अदालतमा नजिरको रूपमा नरहने र अपवादमा गरिएको फैसला हो भनी लान पाउने फैसला सुनायो, तर मेट्रोपोलिटियन सिटीले हरेक हप्ता केन्टको घरमा गएर उचित तरिकाले पालन पोषण गरेको छ कि छैन, यदि छैन भने सिटीले उचित व्यवस्था मिलाई दिने र प्रोफेसर केन्टलाई सहयोग गर्ने भनेर निर्णय सुनायो ।

अब प्रोफेसर केन्टको घरमा तीन जना परिवार सदस्य भए । तिनीहरू सँगै घुमघाम गर्थे, सँगै बसेर खान्थे, सुत्ने कोठा एकै थियो । निकै समय पछि एक दिन प्रभातमा नै त्यो हरिणको बच्चो एकदम चिच्याएर कराए जस्तो गर्छ, शेरु रुँदै भुकेको जस्तो आवाज छिमेकीहरूले सुने । कसैले प्रोफेसरले खान दिएनछन् कि भने, कसैले केही अनिष्ट पो भयो कि भने, कसै कसैले के के सोचे र अन्त्यमा पुलिसलाई खबर गरे । पुलिस प्रोफेसरको घरमा आयो र ढोका ढक ढकायो,ढोका खुलेन । कुकुर र हरिणको बच्चा कराएको आवाज मात्र आई रह्यो । बाध्य भएर पुलिसले ढोका फोर्‍यो र भित्र हेर्दा तिनीहरू प्रोफेसरलाई उनको जिउमा रुँदै खोस्री रहेका थिए…..प्रोफेसर केन्ट राती नै हृदय गति बन्द भएर आफ्ना बिछोडिएका छोरा ,छोरी र श्रीमतीलाई भेट्न लामो यात्रामा निस्की सकेका थिए ।

प्रतिक्रिया