अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३९ | Colorodo: 02:54

कोरोना महामारीविरुद्ध सरकारलाई एनआरएनएको १ करोड ६० लाख सहयोग

बिआरटीनेपाल २०७६ चैत २४ गते २२:२१ मा प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोभिड १९ महामारीविरुद्ध लड्न भौतिक सामग्री खरीदका लागि नेपाल सरकारलाई १ करोड ६० लाख रुपैंयाँ सहयोग गर्ने निर्णय गरेको छ । एनआरएनएका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको पछिल्लो बैठकले यस्तो निर्णय गरेको हो ।

यसैगरी बैठकले एनआरएनए कल्याण कोष स्थापना गर्न उच्चस्तरीय समिति पनि गठन गरेको छ । बैठकले संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा नेपाल सरकार र निजी क्षेत्रका प्रतिनिधिलाई समेटेर समिति गठन गरेको महासचिव डा. हेमराज शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार, ‘एनआरएनए कल्याण कोष’ को स्थापना गरी कोषमा वार्षिक ८ करोड रुपैयाँ जम्मा गर्दै जाने ठोस योजनासहित कार्य अगाडी बढाउने उद्देश्यले समिति गठन गरिएको हो । बैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सबाट नेपाल राष्ट्र बैंकले दिने कमिसनको केही अंश सो कोषमा जम्मा हुँदा वार्षिक ८ करोड रुपैयाँ संकलन हुने संघको अनुमान छ ।

नवगठित समितिमा अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, अध्यक्ष बैंकिङ्ग एशोसिएसनका अध्यक्ष, नेपाल रेमिट्यान्स एशोसियसन, संघका उपाध्यक्ष डा. बद्री केसी, प्रवक्ता डिबी क्षेत्री, चिरन्जीवी थापा र सदस्य सचिवमा अनल भट्टराई रहनुभएको छ । यसैबीच गैरआवासीय नेपाली संघद्वारा गठित कोभिड–१९ राहत कोषको उपसमिति विस्तार गरिएको संघका उपाध्यक्ष सोनाम लामाले जानकारी दिनुभयो ।

संघको परोपकार तथा राहत विभागका प्रमुखसमेत रहेका लामाले कोरोना महामारीको लागि आर्थिक संकलनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले क्षेत्रीय संयोजकहरुलाई समेत परिचालन गर्न लागिएको पनि बताउनुभयो । संघका कोषाध्यक्ष श्रेष्ठको संयोजत्वमा गठित सो समितिको उपसंयोजकमा गौरी जोशी, आरके शर्मा, लोक दाहाल रहनुभएको छ ।

यस्तै समितिको सदस्यहरुमा राजन त्रिपाठी (अमेरिका), नारायण आचार्य (यूरोप), रविन्द्रप्रसाद श्रेष्ठ, प्रविन गुरुङ, होमनाथ पाण्डे, रोशन थापा हुनुहुन्छ । संघका सबै राष्ट्रिय समितिका अध्यक्षहरु समितिको पदेन सदस्य रहने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू