अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४४ | Colorodo: 05:59

बेलायती महारानी एलिजाबेजको सम्बोधनः “कोरोना विरुद्धको युद्ध अवश्य जितिने छ”

बिआरटीनेपाल २०७६ चैत २३ गते २२:२८ मा प्रकाशित

बेलायती महारानी एलिजाबेथ द्वितियले राष्ट्रका नाममा सन्देश जारी गर्दै कोरोना भाइरस महामारीविरुद्धको युद्धमा जित हाँसिल गर्ने बताउनुभएको छ । कोरोना भाइरसको संकटमा जुधिरहेकाहरुप्रति ऐक्यबद्धता जनाउन महारानी एलिजाबेथले आइतबार बेलुका राष्ट्रका नाममा सम्बोधन गर्नुभएकोे हो ।

महारानीबाट हुने दुर्लभ सम्बोधनमा उहाँले सरकारले लागु गरेका नियमहरु पालना गरेकोमा नागरिकलाई धन्यबाद दिनुभएको छ । यस्तै अरुको सहयोगका लागि फ्रन्टलाइनमा आएकाहरुको प्रशंसा महारानीले सन्देशमा गर्नुभएको छ । बेलायत सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि घरमै बस्न सबै नागरिकसँग आग्रह गरेको छ।

महारानी एलिजाबेथले आफ्नो सन्देशमा कोरोना भाइरस संक्रमण विरुद्ध काम गरिरहेकाहरुको प्रशंसा गर्दै हरेक पटक गरिने कामले सबैलाई सामान्य समय तिर फर्काउन सहयोग गर्ने बताउनुभयो । बेलायतमा कोरोना भाइरसको संक्रमणका कारण ४ हजार ९ सय ३४ जनाको मृत्यु भइसकेको छ।

विन्डोर कासलबाट सम्बोधन गर्नुभएकी महारानी एलिजावेथले भन्नुभयो, ‘हामीले यसअघि पनि चुनौतिहरुको सामना गरेका थियौँ, तर अहिलेको चुनौति फरक छ । यो पटक हामी विश्वका सबै देशहरुको सामूहिक प्रयास र वैज्ञानिकहरुको महत्वपूर्ण खोजबाट उपचारको खोजीमा छौँ । हामी सफल हुने छौँ‘र त्यो सफलता हामी सबैको हुने छ ।’

९३ वर्षकी महारानी एलिजाबेथले कोरोना भाइरसका कारण आफ्ना–आफन्त तथा प्रियजनसँग पर बस्नुको पीडा पनि रहेको उल्लेख गर्नुभयो । अहिले कायम भएको सामाजिक दूरीले आफूलाई दोस्रो विश्वयुद्धका बेला बालबालिकाहरु परिवारबाट अलग राखिएको कुरा स्मरण गराएको उहाको भनाई छ । तर अहिले सामाजिक दूरी कायम गर्नु र त्यो बेला बालबालिकालाई पर राख्नु समय अनुसार अत्यावश्यक रहेको उहाको जोड थियो ।

महारानी एलिजाबेथको सम्बोधनको एक घण्टापछि प्रधानमन्त्री बोरिस जोन्सनलाई अस्पताल भर्ना गरिएको थियो। मार्च २७ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री जोन्सन सेल्फ आइसोलेसनमा रहनुभएको थियो । तर उहँमा अझै पनि कोरोना भाइरसको लक्षण नरोकिएपछि परीक्षणका लागि लण्डनको अस्पताल भर्ना गरिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू