अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०८ | Colorodo: 14:23

चीनद्वारा न्यूयोर्कलाइ एक हजार भेन्टिलेटर पठाउदै

बिआरटीनेपाल २०७६ चैत २३ गते १३:२९ मा प्रकाशित

न्यु योर्क, अमेरिकाको न्यु योर्क राज्यका गभर्नर एन्ड्रु कुमोले चीन सरकारले कोरोना भाइरसबाट ठुलो सङ्कटको सामना गरिरहेको न्यूर्याकका लागि एक हजार थान भेन्टिलेटर पठाउन लागेको बताएका छन् । गभर्नर कुमोले सङ्कटको यस समयमा चीन सरकारको सदाशयताका लागि धन्यवाद दिँदै चीनले प्रदान गर्न लागेका भेन्टिलेटर आजै अमेरिकाको केनेकी विमानस्थलमा आइपुग्ने जानकारी दिए। अमेरिकाका विभिन्न राज्यमा कोरोना भाइरसको संक्रमण रहेको भन्दै अमेरिकामै यी सामान तत्काल प्राप्त गर्न कठिनाइ भएको पनि उनले बताए । ‘हामी सबै एउटै युद्धमा छौँ । सबैले भाइरसको प्रसार रोक्ने एक मात्र उद्देश्य राखेका छौँ,’ कुमोले भने । उनले ओरेगन राज्यले पनि न्यूयोर्कका लागि १४० थान भेन्टिलेटर पठाउने वचन दिएको बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतिपय राज्यलाई तत्काल स्वास्थ्य सामग्री आवश्यक नभए पनि ठुलो सङ्ख्यामा माग भइरहेको भन्दै दुःख प्रकट गरे । उनले चीनबाट भेन्टिलेटर मगाउन आफूले नै पहिलो प्रयास गरेको जानकारी दिए । न्यूयोर्कका गभर्नर कुमो र आफूबिच कुनै पनि विषयमा मतान्तर नरहेको पनि राष्ट्रपति ट्रम्पले स्पष्ट गरे । यसै गरी म्यासाचुसेट्स राज्यले पनि चीनबाट दश लाख मास्क ल्याउनुका साथै रसियाले पनि चिकित्सा उपकरण अमेरिका पठाएको छ । यसैबिच, राष्ट्रपति ट्रम्पले एन९५ सुरक्षात्मक मास्क क्यानडा र अन्य मुलुकमा निकासमा प्रतिबन्ध लगाउने बताए । अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या तीन लाख नाघेको छ भने ८ हजारभन्दा बढीको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ३ हजार ५०० न्यु योर्क राज्यका रहेका छन् ।

चीन र ओरेगन राज्यबाट भेन्टिलेटर उपलब्ध भए पनि न्यु योर्क राज्यका गभर्नर कुमोले राज्यका निजी स्वास्थ्य संस्थाहरूलाई आफूसँग रहेका भेन्टिलेटरहरू कोरोना भाइरसका बिरामीका लागि पनि उपलब्ध गराउन आदेश दिएका छन् । राष्ट्रपति ट्रम्पले सङ्घीय सरकारले न्यूयोर्कको जाभिट्स कन्भेन्सन सेन्टरमा दुई हजार ५०० शय्याको फिल्ड अस्पताल निर्माण गर्न लागेको र त्यहाँ अमेरिकी सैनिकले सेवा दिने बताए । सेनाले सञ्चालन गर्ने गरी लुजियाना र डल्लासमा पनि यस्तै अस्पताल बनाइने राष्ट्रपति ट्रम्पले बताए । एजेन्सी (एभरेष्टटाइम्सबाट)

फायल फोटो

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू