अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१६ | Colorodo: 11:31

अमेरिकाको न्यूयोर्कमा दुइजना नेपालीको निधन

बिआरटीनेपाल २०७६ चैत २२ गते २२:१४ मा प्रकाशित

कोरोना संक्रमण वा अन्य कारण अझै खुलेको छैन

डिसी । अमेरिकाको न्यूयोर्कमा दुई जना नेपालीको निधन भएको छ । दुवै जनाको निधन घरमानै भएकोले कोरोना संक्रमणले मृत्यु भएको हो वा अन्य कारणले भन्ने खुल्न सकेको छैन । करिब २० वर्ष देखि न्यूयोर्कमा बस्दै आएका थोक्मे विष्टको हिजो बिहान १० बजेतिर निधन भएको थियो । अपर मुस्ताङको लोमान्थाङका विष्ट न्यूयोर्कको सन्नी साइडमा अपार्टमेन्टमा बस्दै आएका थिए । उनको निधन पनि आफ्नै अपार्टमेन्टमा भएको खसोखास डटकमले जनाएको छ । स्वर्गीय विष्टको शवलाई साँझ ६ वजे प्रहरी र मेडिकल टिमले लगेको थियो ।

खसोखास डटकमले लेखेको छ, मुस्ताङ किदुगको पूर्व अध्यक्ष नोर्बु विष्टका अनुसार सुरुमा टाउको दुख्ने र श्वास फेर्न गाह्रो हुने समस्या भएपछि विष्ट सीटीएमडीमा उपचारका लागि गएका थिए । त्यसपछि उनलाई घरमै आराम गरेर बस्न भनिएको थियो । कहिले राम्रो हुने कहिले स्थिति एकदम नराम्रो हुने गरेकोमा अस्ति बेलुका खाना समेत खान नसकेको जनाइएको छ ।

सीटीएमडीले घरमै बस्न भनेपछि विष्ट माउन्ट साइनाई अस्पतालमा समेत गएका थिए । अस्पतालले एक्सरे गरेपछि फोक्सोमा समस्या रहेको बताएको थियो । तर अस्पतालले भर्ना लिन नमानी घरमै आराम गर्न भनेको र केही दिनमा रिपोर्ट दिने बताएको थियो । रिपोर्ट नआउँदै विष्टको निधन भएको छ । विष्ट मुस्ताङका राजाका समेत नजिकका आफन्त हुन् ।

विष्ट ४८ वर्षका थिए । विष्टका दुई वटा छोरा र श्रीमती काठमाडौँमा बस्दै आएका छन् । विष्ट २० वर्षदेखि अमेरिकामा बस्दै आएका थिए भने र अमेरिका आएदेखि नै कागजपत्र नभएका नेपाल फर्कन सकेका थिएनन् । छेपक दोर्जे गुरुङले भने – ‘कागजपत्र नभएका कारण सधैका लागि नेपाल जाने बताउँदै थिए । दुई साता अगाडि मात्र मेरो भेटघाट भएको थियो । परिवारलाई भेट्नै नपाई बिते ।’

केही दिन पछि मात्र शव समुदायले दाहसंस्कार गर्ने वा अस्पतालले गर्नेभन्नेबारे टुङ्गो लाग्ने राजकुमार विष्टले जनाएका छन् । मुस्ताङ घर भई न्युयोर्कको क्वीन्स जमैकामा बस्ने अर्का नेपाली सोनाम लामाको पनि मृत्यु भएको नुप्री एसोसिएसनका पूर्व अध्यक्ष मिङमार लामाले जानकारी दिएका छन् । सोनाम अन्दाजी ४० वर्षका रहेका थिए भने उनको मृत्यु बस्दै आएको कोठाभित्रै भएको जनाइएको छ । जमैकामा एक्लै बस्दै आएका उनी केही दिनदेखि बिरामी रहेको बताइएको छ ।

उनको मृत्यु कोरोना संक्रमणकै कारण भएको अनुमान गरिए पनि रिपोर्ट आउन भने बाँकी रहेको छ । झन्डै १८ वर्षदेखि अमेरिकामा बस्दै आएका सोनामको परिवार नेपालमा रहेको जनाइएको छ । उनको शव प्रहरीले लगेर गएको र उनका कुनै आफन्तहरू अमेरिकामा नभएका कारण त्यसपछि अवस्था अज्ञात रहेको छ । यसअघि नेपाली अनिल लिम्बुको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिकामा निधन भएको थियो । खसोखासबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू