अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०१ | Colorodo: 06:16

न्यूयोर्क कोराना भाइरस महामारीको इपिसेन्टर बन्दै, केही दिनमै संक्रमण अझ उच्च हुने

बिआरटीनेपाल २०७६ चैत २२ गते २२:१८ मा प्रकाशित

अमेरिकामा कोरोना भाइरस महामारीको इपिसेन्टरका रुपमा रहेको न्यूर्योकमा एकै दिन कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या अर्को उचाईमा पुगेको छ । शनिबार एकै दिन न्यूर्योकमा कोरोना भाइरसका कारण कम्तिमा ६३९ जनाको मृत्यु भएको छ । योसँगै राज्यमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या तीन हजार ५६५ पुगेको छ ।

अधिकांश मृत्यु हुने न्यूयोर्क सिटीका छन् । न्यूयोर्क राज्यमा संक्रमितको संख्या १ लाख १३ हजार ७ सय भन्दा बढी रहेको छ । अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ४ सय भन्दा बढी पुगेको छ । यस्तै संक्रमितको संख्या ३ लाख ११ हजार भन्दा बढी छ । अमेरिकाभर शनिबार कम्तिमा १२ सय २४ जनाको मृत्यु भएको छ । त्यसमा आधा न्यूयोर्कका छन् ।

न्यूर्योकका गभर्नर एन्ड्रयू कुओमोले अबको चारदेखि १४ दिनमा राज्यमा कोरोना भाइरस संक्रमणको प्रभाव अहिलेसम्मकै उच्च वा खराब स्तरमा देखिने बताउनुभएको छ । शनिबार गभर्नर कुओमोले राज्यले आउँदो हप्ता कोरोना भाइरस संकटको सबैभन्दा विकरला रुपको सामना गर्नु पर्ने चेतावनी दिनुभएको हो ।

अहिले राज्यमा कोरोना भाइरसविरुद्धको युद्धमा ८५ हजार मानिसले स्वतन्त्र रुपमा सेवा गरिरहेको र त्यसमध्ये २२ हजार मानिस राज्य भन्दा बाहिरका रहेको गभर्नर कुओमोले जानकारी दिनुभयो । यस्तै चिनियाँ सरकारले न्यूयोर्कका लागि एक हजार भेन्टिलेटर सहयोग गर्न सहजिकरण गरिरहेको र ओरिगनले १४० भेन्टिलेटर पठाएको उहाँले बताउनुभएको छ ।

न्यूयोर्कका गभर्नर कुओमो तथा न्यूयोर्क सिटीका मेयर बिल डी ब्लासिओले लगातार अस्पतालमा चाहिने अत्यावश्यक सामग्री अभाव भएको बताउँदै आउनुभएको छ ।

तर राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ह्वाइट हाउसमा हुने दैनिक ब्रिफिङ्गको क्रममा त्यसलाई अस्वीकार गर्दै सञ्चारमाध्यममाथि आक्रमण गर्ने गर्नुभएको छ । स्वास्थ्य सामग्रीको आपूर्ति कम भएको भन्ने खबरलाई अनावश्यक बढाइचढाईँ गरेको आरोप लगाउँदै ट्रम्पले उनीहरुले रेटिङ्ग खोजिरहेको र के चाहिरहेका हुन् आफुलाई थाहा नभएको टिप्पणी गर्नुभएको छ ।

न्यूयोर्कका गभर्नर कुओमोले राज्यलाई ४० हजार भन्दा बढी भेन्टिलेटर आवश्यक रहेको बताएपनि तर ट्रम्पले भने त्यो कुनै पनि हालतमा पूरा नहुने प्रतिक्रिया दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू