अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२२ | Colorodo: 07:37

विश्वभर कोरोना संक्रमणबाट ६४ हजार भन्दा बढीको मृत्यु, संक्रमितको संख्या १२ लाख नाघ्यो

बिआरटीनेपाल २०७६ चैत २२ गते २२:१६ मा प्रकाशित

विश्वभर कोभिड– १९ (कोरोना भाइरस) को संक्रमण अत्यन्तै तीव्र गतिमा बढिरहेको छ । शनिबार एकै दिन विश्वभर ८४ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । यससँगै कुल संक्रमितको संख्या १२ लाख नाघेको पुष्टि भएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभरि १२ लाख १ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा शनिबार एकै दिन मात्र विश्वभरि ८४ हजार ७८२ नयाँ संक्रमित फेला परेका छन् । यसमध्ये सर्वाधिक संक्रमितको संख्या अमेरिकामा रहेको छ ।

विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६४ हजार ७ सय १६ पुगेको छ । शनिबार मात्रै विश्वभरि ५ हजार ५०१ जनाको ज्यान गएको छ । अमेरिकामा मात्रै कुल ३ लाख ११ हजार ३५७ जनामा संक्रमण पुष्टि भएको वल्र्डोमिटर्सले जनाएको छ । त्यहाँ शनिबार एकै दिन हालसम्मकै सर्वाधिक ३४ हजार १५६ जना नयाँ संक्रमित पाइएका छन् । अमेरिकामा अहिलेसम्म ८ हजार ४ सय ५२ जनाको ज्यान गएको छ ।

उता स्पेनमा पनि इटलीको भन्दा धेरै संक्रमित पुष्टि भएको छ । त्यहाँ शनिबार ६ हजार ९६९ नयाँ संक्रमित फेला परेकासँगै कुल संक्रमितको संख्या १ लाख २६ हजार १ सय ६८ पुगेको छ । त्यहाँ मृत्यु हुने संख्या ११ हजार ९ सय ४७ रहेको छ । इटलीमा पनि शनिबार ४ हजार ८०५ जना नयाँ संक्रमित फेला परेका छन् भने कुल संक्रमित १ लाख २४ हजार ६३२ पुगेको छ भने ज्यान गुमाउनेको संख्या १५ हजार ३ सय ६२ पुगेको छ।

त्यसपछि सबैभन्दा बढी संक्रमित पुष्टि हुने देशमा जर्मनी रहेको छ । त्यहाँ ९६ हजार ९२ जनामा कोरोना भाइरस संक्रमण फैलिसकेको छ । त्यहाँ हालसम्म १ हजार ४४४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । फ्रान्समा ८९ हजार ९ सय ५३ जना संक्रमित हुँदा ७ हजार ५ सय ६० जनाको ज्यान गएको छ ।

चीनको वुहान शहरबाट सुरू भएको कोभिड– १९ महामारी हाल विश्वका प्रायः सबै देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । चीनमा भने लामो समययता संक्रमण र मृत्युदर अत्यन्त न्यून रहेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू