अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०१ | Colorodo: 10:16

कोरोना भाइरसबारे गुगलको रिर्पोट – अमेरिकामा भन्दा नेपालमा बढी सर्तकता

बिआरटीनेपाल २०७६ चैत २१ गते २३:३५ मा प्रकाशित

इन्टरनेट सर्च इन्जिन गुगलले कोरोना भाइरसको संक्रमण फैलिएका देशले अपनाएका ‘सामाजिक दूरी’बारे अध्ययन गरेको छ । विश्वलाई कोरोना भाइरस अर्थत कोभिड(१९ ले आक्रान्त भएको बेला उसले एक अध्ययनको रिपोर्ट सार्वजनिक गरेको हो । गुगलले सार्वजनिक गरको रिपोर्टका अनुसार ‘सामाजिक दूरी’मा संयुक्त राज्य अमेरिकाभन्दा नेपाल अगाडि देखिएको छ । गुगल रिर्पोटको अनुसार नेपालमा रेस्टुरेन्ट, क्याफे, सपिङ सेन्टर, म्युजियम, संग्रहालय, पुस्तकालय र फिल्म हललगायत मान्छेको चहलपहल ७८ प्रतिशत घटेको छ ।

बजार, खाद्य गोदामहरु, विशेष खाद्य पसल, औषधि पसल र फार्मेसीमा ६९ प्रतिशले मान्छेको चहलपहल घटेको छ । त्यस्तै राष्ट्रिय निकुञ्ज, प्लाजा, सार्वजनिक बगैंचालगायत क्षेत्रमा नेपालमा ५५ प्रतिशले मान्छेको चहलपहल घटेको गुगलले जनाएको छ । नेपालमा सार्वजनिक यातायात क्षेत्रमा मानिसको भिडभाड ७४ प्रतिशत, काम गर्ने ठाउँमा ७२ प्रतिशतले मान्छेको चहलपहल घटेको गुगलले जनाएको छ । तर आवासमा मानिसको सहभागिता २८ प्रतिशत बढेको छ ।

अमेरिकामा भने रेस्टुरेन्ट, क्याफे, सपिङ सेन्टर, म्युजियम, संग्रहालय, पुस्तकालय र फिल्म हललगायतमा मान्छेको चहलपहल ४७ प्रतिशत मात्रैले घटेको छ । बजार, खाद्य गोदामहरु, किसानहरु पसलहरू, औषधि पसल र फार्मेसीमा २२ प्रतिशले मात्रै मान्छेको चहलपहल घटेको गुगलले जनाएको छ ।

त्यस्तै अमेरिकामा राष्ट्रिय निकुञ्ज, प्लाजा, सार्वजनिक बगैंचालगायत क्षेत्रमा १९ प्रतिशतले मान्छेको चहलपहल घटेको छ । अमेरिकामा सार्वजनिक यातायात क्षेत्रमा ५१ प्रतिशत र काम गर्ने ठाउँमा ३८ प्रतिशतले मान्छेको चहलपहल घटेको गुगल रिर्पोटले देखाएको छ ।

कोरोना भाइरसबाट बच्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना प्रभावित विश्वका सबै राष्ट्रलाई सामाजिक दूरी कायम गर्न सुझाव दिएको दिएको थियो । डब्ल्यूएचओले नै कोरोनाको महामरीबाट बच्न सबैभन्दा प्रभावकारी तरिका भनेकै सामाजिक दूरी कायम राख्नु नै हो भनेको थियो । सोहि अनुसार नेपालले अहिले लकडाउन गरेको छ । ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएपछि सरकारले देशभर लागू हुनेगरी चैत २५ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको छ ।

नेपालमा अहिलेसम्म ६ जनामा कोरोनको भाइरस संक्रमणको पुष्टि भएको छ । चीनको वुहानबाट आएका एक विद्यार्थी भने पूर्ण रुपमा निको भइसकेका छन् । अरु पाँच जनाको भने उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य नै रहेको छ ।

अमेरिकामा भने कोरोना भाइरसको ग्राफ झन झनै उकालो लाग्दै गएको छ । शुक्रबार एकै दिन अमेरिकामा १३ सय बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् भने ३२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू