अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४३ | Colorodo: 17:58

कोरोना संक्रमण– अमेरिकामा एकै दिन १४ सय भन्दा बढीको मृत्यु, ७ हजार भन्दा बढीको ज्यान गयो

बिआरटीनेपाल २०७६ चैत २१ गते २३:१० मा प्रकाशित

नोवेल कोरोना भाइरसको विश्वव्यापी महामारीको हालको इपिसेन्टर अमेरिकामा संक्रमण तथा कोभिड–१९ का कारण हुने मृत्यु लगातार बढ्दो क्रममा छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन अस्वीकार गरेका बेला अमेरिकामा मास्कको अभाव भएका खबर आउने क्रम जारी छ र सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सले घर बाहिर निस्कँदा हरेक अमेरिकीले मास्क लगाउनु पर्ने नयाँ सुझाव जारी गरेको छ ।

संक्रमण तथा कोभिड–१९ का कारण हुने मृत्यु नयाँ उचाईमा पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबार एकै दिन अमेरिकामा कम्तिमा १४ सय २३ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण कुनै पनि देशमा एकै दिन भएको यो सबैभन्दा ठूलो संख्याको हताहती हो । यसअघि बिहीबार अमेरिकामा एकै दिन ११ सय ६९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको थियो । अमेरिकामा हालसम्म कुल मृत्यु हुनेको संख्या ७ हजार ४०६ पुगेको छ ।

यस्तै शुक्रबार एकै दिन अमेरिकामा ३२ हजार २८४ भन्दा बढीमा नयाँ संक्रमण देखिएको छ । योसँगै अमेरिकामा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार १६१ भन्दा बढी भएको छ ।

अमेरिकामा सबैभन्दा बढी प्रभावित भएको न्यूयोर्क सिटीमा कुल संक्रमतिको संख्या ५६ हजार २८९ छ । यसमा शुक्रबार थपिएका ६ हजार ५८२ हुन् । यस्तै न्यूर्योकमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३,२१८, क्यालिफोर्नियामा २८५, मिसिगनमा ४७९, जर्जियामा १९८, न्युजर्सीमा ६४६, लुजियानामा ३७०, वासिङ्टनमा २९१ जनाको मृत्यु भएको छ ।

कोलोराडो डिपार्टमेन्ट अफ हेल्थको वेबसाइट अनुसार कोलोराडोमा रहेको ५३ काउन्टीमा कोरोनामा बिरामी फेला परेका छन् । यो समाचार तयार पार्दासम्म कोलोराडोमा १११ जनाको मृत्यु भएको छ भने सङ्क्रमित हुनेको सङ्ख्या ४,१३१ छ । अहिले सम्म २२ हजार ७१ जनाको परीक्षण गरिएको छ ।

प्रतिक्रिया