अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

कोरोना भाइरसको संक्रमणबाट सैनिकलाई जोगाउन अपिल गरेका अमेरिकी नेभीका कप्तान बर्खास्त

बिआरटीनेपाल २०७६ चैत २० गते २२:२० मा प्रकाशित

अमेरिकी नेभी (जल सेना) ले सेनाको लडाकु विमान ओसारपसार गर्ने पानी जहाजमा रहेकाहरुमा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि पर्याप्त काम नगरेको बताएका कमाण्डरलाई बर्खास्त गरेको छ ।थियोडोर रोजवेल्ट पानी जहाजका क्याप्टेन ब्रेट क्रोजियरले अमेरिकी रक्षा मन्त्रायललाई पत्र लेखेर अहिले युद्धको बेला नरहेको र सैनिक यस्तो बेलामा मर्नु आवश्यक नरहेको भन्दै कोरोना भाइरसको संक्रमणबाट हुन सक्ने जोखिम रोक्नका लागि काम गर्न आग्रह गरेका थिए ।

तर अमेरिकी नेभीका कार्यबाहक सचिव थोमस मोड्लीले परिस्थितिमाथि क्याप्टेन क्रोजियरको मूल्यांकन अति नै निम्मस्तरको रहेको आरोप लगाएका छन् ।आयोजित पत्रकार सम्मेलनमा मोड्लीले क्याप्टेन क्रोजियरलाई पत्र सञ्चारमाध्यमलाई उपलब्ध गराएको अभियोगमा बर्खास्त गरिएको बताएका छन् ।

चार हजार भन्दा बढी पानी जहाजको चालक दलका सदस्यमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम भएपछि क्याप्टेनले सहयोगका लागि अपिल गरेका थिए ।थियोडोर रोजवेल्टमा रहेका मानिसहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि क्याप्टेन ब्रेट क्रोजियरले सहयोगका लागि आग्रह गरेका हुन् । अहिले सो पानी जहाज गुआममा रोकिएको छ ।

क्याप्टेन क्रोजियरले अमेरिकी रक्षा मन्त्रायललाई सहयोगको माग गर्दै लेखेको पत्रमा उल्लेख थियो ‘अहिले हामी युद्धमा छैनौँ । नेभीका सदस्य मर्नु आवश्यक छैन ।’ उनले पानी जहाजको चालक दलका सबै सदस्यलाई क्वारेन्टाइनमा राख्न पनि सुझाव दिएका थिए । क्याप्टेन क्रोजियरको पत्रबारे पहिलो पटक समाचार बनाएको द सन फ्रान्सिस्को क्रोनिकलले कम्तिमा एक सय नेभीमा कोरोना भाइरसको संक्रमण देखिएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू