अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३० | Colorodo: 06:45

पोखरामा कोभिड– १९ को परीक्षण सुरु

बिआरटीनेपाल २०७६ चैत १९ गते ७:५९ मा प्रकाशित

गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुरु भएको छ । मंगलबार बिहान ल्याइएको पीसीआर मेशिन जडान भएसँगै परीक्षण सुरु गरिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

कोरोना जाँच्ने पीसीआर मेशिन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा जडान गरिएको छ । अहिलेसम्म ४ जनाको स्वाब परीक्षण गरिएको छ जसमा कास्कीका ३ र बागलुङ्का १ जनाको स्वाब परीक्षण गरिएको शर्माले बताउनुभयो । परीक्षण गरिएकामध्ये सबैको रिपोर्ट नेगेटिभ आएको छ । नयाँ पीसीआर मेशिनले १ घण्टामा १ जनाको कोरोना परीक्षण गर्न सक्छ । अहिलेसम्म गण्डकी प्रदेशबाट ४७ जनाको नमूना संकलन गरिएकोमा २२ जनाको स्वाब परीक्षण गरिएको छ । त्यसमा २१ जनाको नेगेटिभ र १ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।

यूरोपबाट फर्किएकी बागलुङ्की १९ बर्षीया युवतीमा गत १० चैतमा कोरोना पुष्टि भएको थियो । सङ्क्रमित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको शर्माको भनाई छ । अन्य २५ जनाको स्वाब परीक्षण हुन बाँकी रहेको छ ।

गण्डकी प्रदेशका ४ जिल्लाबाट अहिलेसम्म कसैको पनि नमूना संकलन गरिएको छैन । नमूना संकलन नभएका जिल्लाहरुमा लमजुङ्, नवलपुर, मनाङ र मुस्ताङ रहेका छन् ।

Western Regional Hospital

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू