अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४२ | Colorodo: 01:57

कोरोनाविरुद्ध चीनमा ठुलो सफलता मिलेको दावी, पुराना बिरामीको रगतबाट नयाँ बिरामीको सफल उपचार

बिआरटीनेपाल २०७६ चैत १९ गते ७:३० मा प्रकाशित

नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमणमा परेका व्यक्तिलाई खुसीको खबर आएको छ । चीनले कोरोना भाइरसका पाँच संक्रमितको सफल उपचार भएको जनाएसँगै कोरोना संक्रमितका लागि यो खुसीको खवर रहेको हो । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएअनुसार चीनमा पाँच व्यक्तिको उपचार पहिले कोरोना संक्रमणबाट भएर निको भएका व्यक्तिको रगतको माध्यमबाट गरिएको हो । चीनका विभिन्न अस्पतालमा गरिएको परीक्षण सफल भएको रोयटर्सले जनाएको छ । रोयटर्सका अनुसार चीनका बिभिन्न अस्पतालमा उपचार गरिएका पाँच बिरामीमध्ये तीन जना निको भई डिस्चार्जसमेत भइसकेका छन् भने दुई जना एक दुई दिनमै अस्पतालबाट घर फर्किने अवस्थामा छन ।

पाँच जना संक्रमितको उपचारमा संलग्न चिकित्सकले कोरोना संक्रमणबाट निको भई घर फर्केका पुराना बिरामीको रगतको माध्यमबाट उपचार गर्दा नयाँ बिरामी ठिक भएको डेलिमेलले जनाएको छ । चीनको द शेनझेन थर्ड पिपुल्स हस्पिटलले आफ्नो प्रयासमा बिरामी निको भएको रिपोर्ट २७ मार्चमा सार्वजनिक गरेको थियो । सो अस्पतालका अनुसार निको भएका पाँच बिरामी ३६ देखि ७३ वर्षसम्मका रहेका छन।

यो सफलतासँगै चिनियाँ वैज्ञानिकहरुले पुराना निको भएका बिरामीको रगतबाट नयाँ बिरामीको उपचार गर्ने विधिलाई कोभेलेसेन्ट प्लाज्मा भनेका छन् । यसरी धेरै बिरामीको निको पारिएको छ । यसमा पुराना निको भएका व्यक्तिको रगत नयाँ बिरामीको रगतमा मिसाएर रोग प्रतिरोधात्मक क्षमता बढाउने गरिन्छ । यसमा रगत शरीरमा प्रवेश गरेसँगै एन्टीबडी बन्छ । एन्टीबडी भाइरससँग लडेर उसलाई मार्न सक्षम हुन्छ ।

कोरोना भाइरसको उपचारका लागि चीनको नेशनल क्लिनिकल रिसर्च सेन्टरको मुख्य संलग्नता रहेको छ । ‘झण्डै १० दिन पहिलेको कुरा हो, अस्पतालमा पाँच जना गम्भीर कोरोना संक्रमित रहेका थिए । ती मध्ये ३ पुरुष र २ महिला थिए । शेनझेन अस्पतालका डाक्टरले पुराना ठिक भएका बिरामीको रगतबाट यी व्यक्तिमा रगत दिए,’ सो अस्पतालले भनेको छ । अस्पतालका उपनिर्देशक लिउ यिङ्गजियाले ३० जनवरीबाट नै यसको परीक्षणको प्रक्रिया थालिएको बताउनु भयो ।

निको भएका बिरामीको रगतबाट प्लाज्मा निकालेर स्टोर गरिएको थियो । जब नयाँ बिरामी आएर उनीहरुमा प्लाज्माको डोज दिइएको थियो । उनीहरुमा सफलता देखिएको यिङ्गजियाको दावी छ । लिउ यिङ्गजियाले अब संसारभर यसको प्रयोग गर्न सकिने बताउनु भयो । ‘यो विश्वासिलो र जुनसुकै देशमा पनि प्रयोग गर्न सकिने उपचार विधि हो,’ उहाँको भनाई छ ।

विश्व स्वास्थ्य संगठनका हेल्थ इमरजेन्सी कार्यक्रमका प्रमुख डा. माइक रियानले पनि यो विधिलाई उपयुक्त र सबैले प्रयोग गर्न सकिने बताउनु भएको छ । समयअनुसार यो कदम सबैका लागि खुसीपूर्ण रहेको उहाँको भनाइ छ । डा. माइक रियानले पुराना बिरामी जो निको भएका छन, उनीहरुको रगतबाट निकालिएको प्लाज्माले नयाँ बिरामीमा रोग प्रतिरोधात्मक क्षमता बढाएको बताउनुभयो । उहाँका अनुसार यसले कोरोना भाइरसलाई मार्ने काम गर्छ । कोरोना भाइरसको आधिकारिक रुपमा ओषधी अहिलेसम्म फेला परेको छैन । बिश्वका बैज्ञानिकहरु यस्को खोजमा लागेको र केही समयभित्रै कोरोना भाइरसबिरुद्धको औषधी पत्ता लगाउने तयारीमा छन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू