अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५६ | Colorodo: 07:11

सरकारद्धारा वार्षिक क्यालेण्डर सार्वजनिक, पृथ्वी जयन्तीलाई ‘राष्ट्रिय दिवसको मान्यता’

बिआरटीनेपाल २०७६ चैत १८ गते २२:४० मा प्रकाशित

नेपाल सरकारले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको छ । पुस २७ गतेलाई राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरी विसं २०७७ सालको वार्षिक क्यालेन्डर सार्वजनिक गरिएको हो । यद्यपि यस दिन सार्वजनिक विदा भने दिइने छैन ।

२०६२÷६३ को परिवर्तनपछि पुस २७ गते मनाइँदै आएको पुथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन दिइँदै आएको बिदा कटौती गरिएको थियो । त्यसयता जनस्तरबाट मात्रै यो दिवस मनाइँदै आएको छ । खारेज गरिएको १३ वर्षपछि गएको पुसमा पनि सरकारी स्तरबाटै यो दिवस मनाइएको थियो ।

यसैगरी जेठ १५ गते गणतन्त्र दिवस, जेठ २१ गते जातीय भेद्भाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, भदौ २२ गते निजामती सेवा दिवस, माघ १६ गते शहीद दिवस र फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने तर सार्वजनिक बिदा भने दिइने छैन । लोकतन्त्र दिवस वैशाख ११ गते मनाइँदै आएकोमा सरकारी क्यालेण्डरमा उक्त दिवस समावेश गरिएको छैन ।

यस्तै विदेशस्थित कूटनीतिक नियोगमा बढीमा १८ दिनसम्म मात्रै सार्वजनिक बिदाको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू