अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 05:12

अमेरिकामा २ लाख ४० हजार मर्न सक्ने ह्वाइट हाउसको अनुमान

बिआरटीनेपाल २०७६ चैत १८ गते २०:३५ मा प्रकाशित

न्यु योर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी २ साता कोरोना भाइरसको संक्रमण ज्यादै पीडादायी हुने बताएका छन् । उनले आगामी दिन विस्फोटक रूपमा बढ्ने संक्रमणबाट बच्न अमेरिका निवासी सबैलाई तयारी गर्न पनि भनेका छन् । ह्वाइट हाउसमा मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने, ‘आगामी २ साता, सायद ३ साता नरक बराबर हुनेछ ।’ ह्वाइट हाउसका अधिकारीहरूले १ लाखदेखि २ लाख ४० हजार सम्मको सङ्ख्यामा कोरोना भाइरसबाट मर्न सक्ने अनुमान गरेका छन् ।

जोन हप्किन्स युनिभर्सिटीका अनुसार अमेरिकामा १ लाख ८४ हजार मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भइसकेको छ । यो सङ्ख्या विश्वको सबैभन्दा बढी हो । मङ्गलवार बिहानसम्मको तथ्याङ्क अनुसार न्यु योर्क ७५ हजार ७ सय ९५ सङ्क्रमित सहित कोरोना भाइरसका लागि विश्वको केन्द्र बनेको छ । यो सङ्ख्या गत डिसेम्बरमा कोरोना भाइरस सुरु भएको चाइनाको हुबेइ प्रान्तको भन्दा बढी हो ।

मङ्गलवारै न्यु योर्कका गभर्नर एन्ड्रयु कुमोले आगामी ३ सातामा पनि कोरोना भाइरसको प्रभाव उच्च बिन्दुमा पुग्नेमा आशङ्का व्यक्त गरे । ‘हामी पहिलो दिनदेखि नै यो भाइरसको पछाडि लागेका छौँ,’ उनले भने, ‘म थाकिसकेँ । यो भाइरसलाई हामीले कमजोर ठान्यौँ । यो हामीले सोचेभन्दा बलियो रहेछ ।’

न्यु योर्कमा मात्र कोरोना भाइरसबाट कम्तीमा १ हजार ५ सय ५० जनाको मृत्यु भइसकेको छ । ह्वाइट हाउसस्थित कोरोना भाइरस टास्क फोर्स संयोजक डां. डेबेरा बिक्र्सले र एन्थोनी फउसीले अमेरिकामा १ लाखदेखि २ लाख मानिस मर्न सक्ने अनुमान गरेका छन् । मङ्गलवार गरिएको पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको स्लाइडमा मर्न सक्ने मानिसको अधिकतम सङ्ख्या २ लाख ४० हजार उल्लेख गरिएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू