अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०३ | Colorodo: 00:18

कोरोना कोषमा पूर्वराजा ज्ञानेन्द्रको २ करोड सहयोग , लकडाउनमा गैरजिम्मेवार नबन्न अपिल

बिआरटीनेपाल २०७६ चैत १८ गते ७:२२ मा प्रकाशित

पूर्वराजपरिवार आबद्ध हिमानी कोषमार्फत पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँको परिवारले सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा दुई करोड रुपैयाँ दिएका छन्। पूर्वराजाले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै यस महामारीले देश र जनतामा भय र सन्त्रास पैदा गरेको उल्लेख गर्दै लकडाउन बाध्यात्मक अनिवार्यता भएको र यसमा गैरजिम्मेवार हुने छुट कसैलाई नभएको पनि उल्लेख गर्नुभएको छ ।

महामारीको यस क्षणमा ज्यानको परबाह नगरी खट्ने चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी सेना प्रहरीलगायत सबै सुरक्षाकर्मीप्रति उहाँले आभार पनि प्रकट गर्नुभएको छ ।

पूर्वराजाको पूर्ण वक्तव्यः

विश्वमा अहिले देखा परेको कोरोना भाइरसको महामारीले सिङ्गो मानव सभ्यता र विकाशलाई नै गम्भीर चुनौती दिएको हामीले ठानेका छौं । देश र जनतामा यस महामारीले भय र संत्रास पैदा गराएको छ। मानव अस्तित्व रक्षाका निम्ति भई रहेको पहल प्रति सम्बेदनशील हुँदै हामी सबैले आ–आफ्नो ठाँउ र क्षमताबाट केही न केही योगदान पुर्याउनु अनिवार्य भै सकेको छ ।

यो अबस्थाबाट मुक्त हुन “लकडाउन” नै बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैह्र जिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरूरी छ। महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्नुहुने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान र्पुयाउने सन्चारकर्मी एबम पत्रकारहरूप्रती हामी आभारी छौँ ।

आम नेपाली दाजुभाई तथा दिदी बहिनीले दःखको घडीमा अभाव र समस्या सहेर पनि यस बिरुद्ध लड्न जुन अनुशासन तथा धैर्यता दर्शाउनुभएको छ यसको हामी उच्च सराहना गर्दछौं ।

राहत, उद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्र सरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा काम भै रहेको बेलामा यसको प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउन हामी अनुरोध गर्दछौ । दुस्ख कष्ट र आपत– बिपदको यो घडीमा सबैका साथमा साथ दिदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको “कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष” मा दाखिला गर्न बुझाएका छौ । यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौ ।

भगवान श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन् ,

जय नेपाल।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू