अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३० | Colorodo: 10:45

९-११ को आतङ्ककारी हमलामा मारिएका भन्दा बढी संख्यामा अमेरिकी नागरिकको कोरोनाको कारण मृत्यु

किशोर सापकोटा २०७६ चैत १७ गते २२:३४ मा प्रकाशित

कोरोना भाइरसको कारण सोमवार साँझसम्ममा अमेरिकामा ३ हजार भन्दा बढी अमेरिकी नागरिकको निधन भएको छ । यो सङ्ख्या सेप्टेम्बर ११ मा भएको आतङ्ककारी हमलामा मारिनेहरूको भन्दा बढी हो । सेप्टेम्बर ११ मा १९ जना आतङ्ककारीहरूले चार वटा यात्रुवाहक विमान अपहरण गरी न्यु योर्क, वासिंगटन डिसी र पेन्सिलभेनियामा आक्रमण गरी २,९७७ जनाको हत्या गरेका थिए । कोरोना भाइरसको कारण सोमवार साँझसम्ममा ३,०५५ जनाको मृत्यु भयो ।

बिहीबार बिहानसम्म कोरोना भाइरसको कारण मर्नेहरूको सङ्ख्या १ हजार आसपास रहेकोमा सोमवार बेलुका मर्नेको आँकडाले ३ हजार पार गर्‍यो । यसको अर्थ चार दिनमा मर्नेहरूको सङ्ख्या तीन गुणा बढेर गएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार अहिलेसम्म १० लाख मानिसको कोरोना टेस्ट गरिएको जानकारी दिए जसमा १ लाख ६३ हजार ४१७ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमणको कारण हरेक दिन नागरिकको मृत्यु गुणात्मक रूपमा हुन थालेपछि विभिन्न राज्यका गभर्नरहरू बढी चिन्तित भएका छन् । अमेरिकाको ३० वटा राज्य र राजधानी वासिंगटन डिसीले स्टे एट होम अर्डर जारी गरेपछि भोलि मङ्गलवारबाट अमेरिकाको कुल जनसङ्ख्याको दुई तिहाइ जनता घरमा बस्ने भएका छन् । कोरोना संक्रमण नियन्त्रण बाहिर गएपछि समाधानका लागि एक मात्र विकल्प भनेको स्टे एट होम अर्डर वनेको छ ।

अमेरिकामा पछिल्ला चार दिनमा हरेक दिन सरदर ५ सय जनाको मृत्यु हुन थालेको छ जसले भयावह अवस्था निम्त्याएको छ । एकातिर कोरोना सङ्क्रमणलाई समयमा नियन्त्रण गर्न नसकेमा मर्नेहरूको सङ्ख्या १ लाख नाघ्ने चेतावनी विज्ञहरूले दिएका छन् भने अर्कोतिर स्वास्थकर्मीहरुका लागि आवश्यक पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट (पीपीइ)का सामानहरू दिन प्रति दिन रित्तिँदै गइरहेका छन् । स्थितिलाई भयावह हुनबाट जोगाउन सकिन्छ कि भनेर सम्बन्धित राज्यका गभर्नरहरू बढी संवेदनशील भएर लागि परेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्प व्यक्ति व्यक्ति वीचको दुरी व्यवस्थापन गर्ने (सोसियल डिस्टेन्सिंग)को पक्षमा भए पनि महामारी नियन्त्रण हुने कुनै सम्भावना नदेखेपछि सम्बन्धित राज्यका गभर्नरहरूले स्टे एट होम अर्डर जारी गरेका हुन् । अमेरिकाको राजधानी वासिंगटन डिष्टिक अफ कोलम्बिया र भर्जिनियामा सोमवार मात्रै स्टे एट होम अर्डर जारी भएको हो । विश्वको सर्वशक्तिमान् मुलुक अमेरिकाको राजधानीमा समेत यति वेला स्टे एट होम अर्डर जारी गर्नु परेको छ र यसको प्रमुख कारण राज्यले आह्वान गरेअनुरुप जनताले सोसियल डिस्टेन्सिग कायम नगरी लापरबाही गरिदिनु नै हो ।

राजधानी डिसीसँग जोडिएका मेरिल्यान्ड र भर्जिनियाले स्टे एट होम अर्डर जारी गरिदिँदा पनि डिसीलाई अर्डर जारी गर्न दबाब परेको थियो । सोमबार साँझ सम्म डिसीमा ९ जनाको मृत्यु भएको छ भने ४ सय ९५ जना सङ्क्रमित छन् । डिसीमा विद्यालयहरू अप्रिल २४ सम्मका लागि बन्द छन् ।

अमेरिकी राजधानी वासिंगटन डिसीमा स्टे एट होम अर्डर उल्लङ्घन गर्ने नागरिकलाई ५ हजार डलर जरिवाना तिराउने र ९० दिन जेल हाल्ने प्रावधान बनाइनुले पनि जनता सरकारी आह्वानलाई कसरी बेवास्ता गरिरहेका छन् भन्ने प्रस्ट पार्छ । भर्जिनिया राज्यले पनि आफ्ना सम्पूर्ण समुद्री तटहरूलाई बन्द गरिदिएको छ र केवल व्यायाम गर्ने र सोसियल डिस्टेन्स कायम गरेर बल्छी खेल्नेलाई भने छुट दिएको छ ।

वासिंगटन राज्यबाट सुरु भएको घर बस्ने आदेश अहिले राजधानी पुगी सकेको छ र अव बाँकी २० वटा राज्यमा पनि कहिलेबाट यो आदेश जारी हुने हो भन्ने प्रतीक्षाको विषय वनेको छ । अहिलेसम्म स्टे एट होम अर्डर जारी गर्ने राज्यहरूमा एरिजोना, क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, डेलावर, डिस्ट्रिक्ट अफ कोलम्बिया (डिसी), हवाई, आइडाहो, इलिनोय, इण्डियना, कान्सास, लुजियना, मेरिल्यान्ड, मासाचुसेट्स, मिचिगन, मिनेसोट्टा, मोन्टाना, न्यु ह्याम्सायर, न्यूजर्सी, न्यु मेक्सिको, न्यु योर्क, नर्थ क्यारोलाइना, ओहायो, ओरेगन, रोड आइल्याण्ड, भर्जिनिया, भर्मोन, वासिंगटन, वेष्ट भर्जिनिया र वीसकन्सिन रहेका छन् ।

अन्य दुई राज्यहरू केन्टकी र नेभाडाले पनि अत्यावश्यक बाहेकका सम्पूर्ण कार्यालयहरू बन्द गर्न निर्देशन दिइसकेका छन् ।

कोरोना भाइरसको संक्रमण बढ्दै जान्दा अहिले स्वास्थकर्मीहरुको अभाव झन्झन् बढ्दै गएको छ । न्यु योर्क राज्यले सेवा निवृत्त भइसकेका स्वास्थकर्मीहरुलाई काममा आइदिन आग्रह गरेको छ भने क्यालिफोर्नियाले व्यापक रूपमा स्वास्थकर्मीहरुको भर्नाका लागि आह्वान समेत गरेको छ । (किशोर सापकोटाको फेसबुकबाट)

प्रतिक्रिया