अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१३ | Colorodo: 03:28

बेलायतमा नेपाली चिकित्सक र विद्यार्थी अलपत्र, उद्धारको लागि नेपाल संरकारसंग अपिल

बिआरटीनेपाल २०७६ चैत १७ गते २२:१२ मा प्रकाशित

बेलायतमा रहेका नेपाली चिकित्सक र विद्यार्थीहरू अलपत्र परेका छन् । उनीहरूले उद्धारका लागि नेपाल सरकारसँग अपिल गरेका छन् । कोरोना भाइरस (कोभिड( १९) को संक्रमण हुन नदिन नेपाल सरकारले विदेशबाट नेपाल भित्रिन रोक र अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि चिकित्सक र विद्यार्थी अलपत्र परेका हुन्।

दर्जनौं नेपाली चिकित्सक चिकित्सा परीक्षाका लागि बेलायत आएका बेला यतै फसेका छन्। विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न आएका नेपाली विद्यार्थीलाई रोजगारी, खान र बस्नको समस्या हुँदा विचल्लीमा परेका छन्।

धुलिखेल अस्पतालमा कार्यरत चिकित्सक डा. अमिर अवालले नेपाल सरकारसमक्ष आफूहरूलाई फर्काउनका लागि पहल गरिदिन अनुरोध गर्नुभएको हो । अवालले लण्डनका दुई कोचिङ सेन्टर र म्यानचेस्टरमा एक गरी धेरै नै चिकित्सक बेलायतमा अलपत्र परेको बताउनुभयो । ‘१६ जना त हामी एकापसमा सम्पर्कमा छौं। कोरोनाका कारण नेपालमा चिकित्सकको अभाव कति होला र भविष्यमा कति पर्न सक्ला ?,’ उहाँले भन्नुभयोे, ‘तर हामी भने यहाँ रोकिएर बसेका छौं। हामी सबै नेपाल फर्कन चाहन्छौं ।’

बेलायतमा जागिर नहुँदा आर्थिक अभाव र कोभिड १९ संक्रमण फैलनेक्रम तीव्र भएपछि चिन्तित भएको विद्यार्थीहरूको गुनासो छ। युनिभर्सिटी अफ वेस्ट लण्डनमा अध्ययनरत अमरसिंह चौधरीले आफूहरू सहयोगविहीन भएको बताउनुभयो ।

अहिले लण्डनबाट घण्टौं टाढा रहेका युनिभर्सिटी अफ हर्डसफिल्ड, बोल्टन र युनिभर्सिटी अफ सेन्ट्रल ल्यानकासायर (यूक्ल्यान) मा अध्ययनरत करिब २ सय नेपाली विद्यार्थीको बिचल्ली भएको छ । कोरोना भाइरसका कारण रेष्टुरेन्ट र अन्य व्यापार बन्द भएपछि रोजगारी गुमेको त्यहाँ अध्ययनरत विद्यार्थीले पनि नेपाल सरकारलाई उद्धार गरिदिन अपिल गरेका छन्।
–नविन पोखरेल( ई–कान्तिपुर)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू