अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३८ | Colorodo: 15:53

विश्व महामारीसँग जुधिरहेको वेला उत्तर कोरिया मिसाइल परीक्षणमा व्यस्त, महिनादिनमै ४ परीक्षण

बिआरटीनेपाल २०७६ चैत १७ गते २२:०७ मा प्रकाशित

विश्वभर कोरोना भाइरसको महामारीले आतंक मच्चाइरहेको वेला उत्तर कोरिया भने मिसाइल परीक्षणमा व्यस्त देखिन्छ । उसले आइतबार मात्र ‘सुपर लार्ज मल्टिपल रकेट लन्चर’ को सफल परीक्षण गरेको बिबिसीले जनाएको छ ।

उत्तर कोरियाली मिडियाहरुले पनि सोमबार यो परीक्षणको पुष्टि गरेका छन् । त्यहाँको अधिकृत न्युज एजेन्सी केसीएनएले उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणहरूको श्रृंखला पुष्टि गरेको अल अजिराले लेखेको छ । केसीएनएले सुपर लार्ज मल्टिपल रकेट लन्चरको अलिल्लो दिन मात्रै सफल परीक्षण भएको कुरा सोमबार पुष्टि गरेको हो ।

तथापि, यस परीक्षणमा त्यहाँका शासक किम जोङ ऊनको प्रतिक्रिया वा सक्रियताबारे भने केही खुलाइएको छैन । विश्लेषकहरूको टिप्पणी छ कि प्योङयाङ (उत्तरी कोरियाली राजधानी) आफ्ना पछिल्ला परीक्षणहरुलाई सामान्य देखाउने प्रयासमा, यसै कारण किम जोङ केही भनेका छैनन् ।

यसअघिका परीक्षणहरुमा किम जोङको सक्रियता देखिने गरेको थियो र परीक्षणका क्रममा उनी पनि तस्वीरमा देखिने गर्थे । तर पछिल्लो परीक्षणमा भने उनी देखिएका छैनन् । विश्वका शक्तिशाली राष्ट्रहरु कोरोना भाइरसको महामारीसँग जुधिरहेका वेला उत्तर कोरियाको ध्यान भने मिसाइल परीक्षणबाट हट्न सकेको छैन । यसै मार्च महिनामा मात्र उत्तर कोरियाले चारवटा मिसाइल परीक्षण गरिसकेको सञ्चारमाध्यमहरुले जनाएका छन् । पछिल्लो मिसाइल परीक्षण आइतबार गरिएको बताइएको छ ।

उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एउटा पनि केस फेला नपरेको समेत दाबी गरिरहेको छ । जबकि दक्षिण कोरियामा कोरोना भाइरसका कारण १५८ जनाको ज्यान गइसकेको छ भने ९ हजारभन्दा बढीमा भाइरसको संक्रमण फैलिएको छ । भारतबाट प्रकाशन हुने अमरउजालाका अनुसार दक्षिण कोरियाले आइतबार उत्तर कोरियाबाट दुई संदिग्ध ब्यालेस्टिक मिसाइन समुद्रमा छोडिएको बताएको छ ।

यी सबै घटनामा दक्षिण कोरियाको ‘ज्वाइन्ट चिफ्स अफ स्टाफ’ले भनेको छ, ‘आइतबार बिहान कोरियाको पूर्वी तटीय शहर वोनसनबाट प्रक्षेपण भएको मिसाइल कोरियाई प्रायद्वीप र जापानको बीचको समुद्रमा खसेको देखियो ।’ दक्षिण कोरियाले दुनियाँ कोरोना भाइरससँग जुधिरहेका वेला उत्तर कोरियाली मिसाइल परीक्षण सर्वथा गलत रहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू