अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०५ | Colorodo: 05:20

कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ३ हजार नाघ्यो – एकैदिन ५६५ को मृत्यु, २० हजार नयाँ संक्रमित

बिआरटीनेपाल २०७६ चैत १७ गते २२:०३ मा प्रकाशित

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड(१९ (कोरोना भाइरस)का कारण अमेरिकामा मृत्यु हुनेको संख्या ३ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार १४८ पुगेको छ ।

चीनबाट सुरु भएको कोरोना महामारी पछिल्लो समय यूरोप हुँदै अमेरिकामा तीव्र रुपले फैलिरहेको छ । विभिन्न तथ्यांक निकाल्ने संस्था वल्र्डो्मिटर्सका अनुसार अहिलेसम्म अमेरिकामा १ लाख ६३ हाजर ४७९ जना कोरोना संक्रमित भएका छन् । तीमध्ये ५ हजार ५०६ जना भने पूर्ण रुपमा निको भएका छन् । अहिले अमेरिकामा १ लाख ५४ हजार ८२५ जना कोरोना संक्रमित छन् । तीमध्ये ३ हजार ५१२ जनाको अवस्था गम्भीर रहेको छ ।

अमेरिकामा पछिल्लो एकैदिन १९ हजार ९८८ नयाँ संक्रमित फेला परेका छन् भने ५६५ जनाको मृत्यु भएको छ । जुन अमेरिकामा कोरोनाका कारण भएको हालसम्मकै उच्च मृत्यु हो । यसअघि एकैदिनमा ५१५ जनाको सम्म मृत्यु भएको थियो ।

अमेरिकाको राजधानी वासिङ्टनलगायत ५० वटै राज्यमा कोरोना संक्रमण फैलिएको छ । कोरोना संक्रमणले आक्रान्त अमेरिकामा पछिल्लो हप्ता मात्रै ३३ लाख नागरिक बेरोजगार भएका छन् । व्यापार व्यवसाय ठप्प छन् भने अर्थतन्त्र डामाडोलको अवस्थामा छ ।

अमेरिकामा सबैभन्दा बढी न्यु योर्कमा संक्रमित भएका छन् । त्यहाँ अहिलेसम्म ६७ हजार ३२५ जनामा कोरोना भेटिएको छ । सबैभन्द बढी मृत्यु पनि न्यु योर्कमै भएको छ । त्यहाँ एक हजार ३४२ जनाको मृत्यु भएको छ ।

न्यु योर्कपछि न्यु जर्सीमा कोरोनाको सबैभन्दा बढी संक्रमित छन् । त्यहाँ १६ हजार ६३६ जना कोरोनाबाट कोरोना संक्रमित भएका छन् । न्यु जर्सी मर्नेको संख्या १९८ पुगेको छ ।

त्यस्तै क्यालिफोर्निया ७ हजार ४१३ जना कोरोना संक्रमित भएका छन् भने १४६ जनाको मृत्यु भएको छ । मिचिगनमा ६ हजार ४९८ संक्रमित भएका छन् भने १८४ जनाको मृत्यु भएको छ । मस्साचुसेट्समा ५ हजार ७५२ सक्रमित र ५६ जनाको मृत्यु भएको छ ।

फ्लोरीडामा ५ हजार ७०४ संक्रमित हुँदा ७१ जनाको ज्यान गएको छ । अमेरिकाको राजधानी वासिङ्टनलमा ५ हजार २५० जना संक्रमित भएका छन् भने २१० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया