अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४३ | Colorodo: 20:58

विश्वका २ सय देशमा कोरोना संक्रमण फैलियो, मृत्यु हुनेको संख्या ३८ हजार नजिक

बिआरटीनेपाल २०७६ चैत १७ गते २२:०२ मा प्रकाशित

कोरोना भाइरस (कोभिड (१९०) संक्रमणका कारण युरोपका देश निकै प्रभावित भएका छन् । अहिलेसम्म विश्वका दुई सय देशमा कोरोना भाइरस संक्रमण फैलिएको छ । कोरोना संक्रमण कारण ७ लाख ८५ हजार ७ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित १ लाख ६५ हजार ६ सय ७ जना उपचारपछि निको भएका छन् । ३७ हजार ८ सय १५ जनाको ज्यान गएको छ । गएको २४ घण्टामा स्पेनमा सबैभन्दा धेरै ९ सय १३ जना, इटलीमा ८ सय १२ जना र फ्रान्समा ४ सय १८ जनाको ज्यान गएको छ ।

इटलीमा मात्रै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ९१ पुगेको छ भने १ लाख १ हजार ७ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै स्पेनमा ७ हजार ७ सय १६ जना, फ्रान्समा ३ हजार २४ जनाको ज्यान गएको छ ।

युरोपपछि अमेरिकामा पनि कोरोना फैलिने क्रम तीव्र गतिमा बढिरहेको छ । अमेरिकामा थप ५ सय ६५ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ६५ जना पुगेको छ । गएको २४ घण्टामा १९ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएसँगै अमेरिकामा मात्रै संक्रमितको संख्या १ लाख ६३ हजार ३ सय ८१ पुगेको छ। कोरोना भाइरसका कारण सिरियामा पनि पहिलो एक जना महिलाको ज्यान गएको छ । अरु ९ जनामा कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ ।

फ्रान्समा ४ सय १८, जर्मनीमा १ सय ४, बेलायतमा १ सय ८०, इरानमा १ सय १७, नेदरल्याण्ड्समा ९३ र बेल्जियममा ८२ जनाको मृत्यु भएको छ। त्यसैगरी टर्कीमा ३७, क्यानडामा २४, पोर्चुगलमा २१, ब्राजिलमा २७ र स्वीडेनमा ३६ जनाको ज्यान गएको छ। भारतमा हिजोमात्रै ५ जनाको मृत्यु भएपछि त्यहाँ मृतकको संख्या ३२ पुगेको छ। थप २ सय २७ नयाँ संक्रमित भेटिएपछि कूल संक्रमितको संख्या १२ सय ५१ पुगेको छ । विश्वभर हिजो एकै दिन ३७ सय १५ जनाको मृत्यु भएसँगै कूल मृतकको संख्या ३७ हजार ७ सय ८० पुगेको छ भने हिजो एकै दिन झण्डै ६१ हजार नयाँ संक्रमति थपिएका छन् । कूल संक्रमतिको संख्या ७ लाख ८४ हजार २ सय ८३ पुग्दा १ लाख ६५ हजार ६ सय ७ जना उपचारपछि निको भएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू