अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०२ | Colorodo: 18:17

अमेरिकामा कोरोना भाइरसको त्रास र अनुभूति

सबु सापकोटा २०७६ चैत १६ गते २२:२९ मा प्रकाशित

यतिबेला कोरोनाको त्रासले विश्व आतंकित छ । जतिसुकै शक्तिशाली हुँ भन्नेका मनमा पनि डर पसेको छ । हुन त विपतको समयमा हामी सबैले आ–आफ्नो स्थानबाट सतर्कता अपनाउनुपर्ने हो । तर अधिकांशको बानी आफू चाहिँ केही नगर्ने र अरुले गरेकोलाई जस नदिने रहेको छ । यतिबेला अरुले केही गरेन भन्नेतिर लाग्ने समय होइन । यो समय त सके आफूले अरुका लागि केही गर्ने, सकिन्न भने आफू सुरक्षित हुने र अरूलाई पनि सुरक्षित रहन सहयोग गर्ने समय हो । कोही पनि कर्तव्यविमुख भएर मानव कहलिन सक्तैन । यतिबेला यो हामी सबैको प्रमुख कर्तव्य हो ।

आज विश्वका केही मानिसलाई शारीरिक रुपमा कोरानाको भाइरसले आक्रमण गरेको छ । तर मानसिक रूपमा विश्वका सबै मानिसलाई कोरानाको संक्रमण भइसकेको छ । मेरा लागि मात्र होइन, महामारीको डर, त्रास र भयमा बस्नुपर्दाको यो समय सबैका लागि मृत्युले घण्टी बजाए सरह भएको छ । संभवत शताब्दीकै यो सबैभन्दा ठूलो महामारीलाई मानिसको किटाणुसँगको विश्वयुद्धसँग तुलना गरिएको छ । विश्वास गरौं, विजय अवश्य मानव जातिको हुनेछ ।

यतिबेला म अमेरिकामा छु, तर अमेरिकाको भन्दा बढी नेपालको खबरले मेरो मनमष्तिष्क हल्लाउँछ । झट्ट कानमा पर्यो– नेपालीलाई पनि कोराना लागेर अस्पतालमा छन् रे । मनले प्रश्न गरिहाल्यो, ककसलाई लाग्यो होला यो ज्यानमारा भाइरस ? धेरैबेर घोत्लिएँ । अनि घरमा फोन गरेँ । परिवार बीचमा कुरा त भयो, तर को र कसलाई लागेको भन्ने थाहा भएन । मन झनै विचलित भयो । निन्द्राले नबोलाए पनि बेडमा पल्टिएँ । निन्द्राको सट्टा त एक्कासी आँखाबाट बरर्रर आँसु पो झरे ।

सबैतिरको चिच्च्याहट कानमा बज्रियो । हतार हतार कान थुनेँ । तर चिच्याहट कानभित्र प्रवेश गरी नै रह्यो । कसैको आवाजको चिच्याहट भए पो कान थुनेर नसुनिनु । यो त मेरो मनको चिच्याहट थियो । कोरोनाको त्रासबाट सिर्जित समस्त मानव जातिको चिच्याहट मेरो मन मष्तिष्कमा प्रवेश गरेको थियो । चिच्च्याहट रोक्न मैले पनि केही गर्नुपर्छ भन्ने सोच्दै थिएँ, तर म आफैँ झल्यास्स भएँ । ओहो ! म नै लकडाउनमा पो छु त। हो, बन्धक छु म, आफैँले आफैँलाई बनाएको बन्धक । ओहो ! म त कोरोना कैदी पो त । एक कैदीले अर्को कैदीको लागि के गर्न सक्छ हँ ? सम्झँदै फेरि अत्यास लागेर आयो ।

एका बिहानै खबर आयो । न्युयोर्क निवासी मेरा छिमेकी एकजना नेपाली दाजुको कोरोनाले ज्यान लियो । आत्तिंदै उठें, फेरि दोहोर्याएर सोधें । अहँ यो हुन सक्दैन १ नभन्दै सँधैजसो भेट भैराख्ने चिरपरिचित हँसिलो मुहार अब सदाको निम्ति केवल आँखामा तस्विर बनेर बस्ने भएछ । संझे आखिर मानव जिवन के नै पो रहेछ र, अहिले छ भरे छैन । अब यो परदेशमा घरमुली नै गुमाएको त्यो परिवारमा के बितिरहेको होला कल्पनासम्म गर्न सक्दिन म ।

मन आत्तिएको छ, तर केही गर्न सकिएको छैन । परेको बेला केही गर्न नसक्दाको जीवन साँच्चै निरिह लाग्यो मलाई । निन्द्रा पटक्कै छैन, भोक छैन र छैन तिर्खा पनि । मात्र छ त्रास, भय र आतंकित मन । टिभि खोल्यो कोरोना, अनलाइन हेर्यो कोरोना, फेसबुक खोल्यो कोरोना, टुइटर हेर्यो कोराना, म्यासेन्जर मेल, युट्युव जताततै कोरोना । मानौँ संसार कोरोनाको साम्राज्य हो । सोच्छु– मोबाइल, टिभि, फेसबुक, टुइटर, अनलाइन केही पनि हेर्दिन । बन्द गर्छु सब । तर पनि दिमागबाट कोरोना हट्दैन । मानौँ मेरो दिमागमा कोरोनाले साम्राज्य विस्तार गरेको छ ।

लाग्छ, अब त यो न्युयोर्क शहरका घरका भित्ता भित्तामा, जमिनका ढुंगा माटोमा, रूखका हाँगा हाँगामा कोरोनाले आक्रमण गरिसकेको छ । ओछ्यानमा पल्टिन्छु, लाग्छ मेरा लागि भोलि बिहान हुन्छ कि हुँदैन ? साँच्चै बिपना पनि सपना जस्तै लाग्न थालिसकेछ । प्रत्येक बिहान संक्रमितको संख्या दोब्बर भएको खबर सुनिन्छ । नभन्दै आज सबै देसलाई पछि पार्दै म बसेको देस, र त्यसमा पनि न्युयोर्क शहर यो बिपत्तिमा अग्रस्थानमा दौडिरहेको छ । तर पनि मेरो मन आफूलाई केही हुन्छ कि भन्नुभन्दा बढी नेपालमा यसको महामारी फैलियो भने के होला भन्ने सोच्नमा तल्लिन छ । मन अत्तालिन्छ । हे भगवान १ नेपालमा त्यस्तो नहोस् भन्ने कामना गर्दछु मनमनै । फोनमा कुरा हुँदा पनि सबैलाई सावधान हुनुपर्दछ भन्छु । लकडाउनबाट जतिसुकै दुःख किन नहोस्, बरु सरकारले अझ कडा गरिदिए नेपाल जोगिन्छ कि भन्ने मात्र मानसपटलमा आइरहन्छ । म मन एकातिर तन अर्को्तिर लिएर दोसाँधमा बाँचिरहेको छु ।

एक मनले सोच्छ– सावधानी अपनाइयो भने अवश्य बाँचिएला । फेरि अर्को मन भन्छ– ओहो १ एक रातमा दोब्बर संक्रमित ? कसरी अछुत भइएला र ? अमेरिका जस्तो बल, दल र धनले शक्तिशाली राष्ट्रमा रहेका हामी आज सबैभन्दा कमजोर अवस्थामा रहेका छौं। आखिर बल भनेको त अर्थ होइन जीवन पो रहेछ भन्ने अनुभूति भैरहेछ । जीवनबोध र मृत्युबोधको दोसाँधमा बल्ल जीवनको मूल्य बुझिने रहेछ ।

तर पनि सामाजिक सञ्जालमा हेर्दा लाग्छ, नेपालीहरु किन मृत्युको खेल खेलिरहेका छन् । सरकारले गरेको लकडाउनको उल्लंघन किन ? यो कफर्यु तोड्ने राजनीतिक लडाइँ जस्तो होइन भन्ने कुरा नेपालीहरुले किन बुझ्न नसकेको ? नेपालीहरूमा यति धेरै हेलचक्राई किन ? के नेपाली कालसँग नडराएकै हो त ? कि अहिलेसम्म नेपालमा कोरोना देखिएन, हामीलाई कोरोना भाइरसले केही गर्न सक्दैन भन्ने अहम्ता प्रदर्शन हो ? नेपालमा कम संक्रमित देखिएको कारण परिक्षण गर्ने स्रोत र साधनको कमीका कारण संक्रमितको यकिन तथ्यांक बाहिर आउन नसकेको पनि त हुन सक्छ नि, होइन र ? चीन, स्पेन, इटली, अमेरिकाको जस्तो संक्रमणको अवस्था नेपालमा आएकोे अवस्थालाई मनन् गरौं त, के होला त्यो दिन रु त्यसैले यो समय सबै जनाले सतर्कता र सावधानी अपनाएर आफू अनि परिवार र समुदायलाई सचेत गराउने समय हो । बाँच, बचाउ र बाँच्न देऊ भन्ने मूल मन्त्रलाई आत्मसात गर्ने समय हो ।

अमेरिकाको न्यूयोर्कस्थित एक बन्द कोठाभित्रबाट बाहिर चियाउँदा लाग्दैछ– मानव सभ्यताबाट केही खोसिएको छ, सभ्यताको यात्रामा कोही छुटेको छ, केही हराएको छ । सुनसान अवस्थामा बाहिरी आवरणमा गुञ्जिने एम्बुलेन्सका आवाजहरू कानमा बज्रिँदै गर्दा लाग्दैछ– कतै ती आवाजहरुले मलाई नै बोलाइरहेको त छैन ? अमेरिकमा बस्नेहरु पनि यस्तो अवस्थामा छन् भन्ने सुन्दा धैरैलाई आश्चर्य लाग्ला, तर प्रत्यक्ष देखिरहेछु, भोगिरहेछु र अनुभूत गरिरहेछुँ– आजसम्म साम, दाम, दण्ड, भेदमा विश्वमा सबैभन्दा शक्तिशाली भनिएको अमेरिकाका नागरिकहरू सबैभन्दा दयनीय जीवन जिउँदैछन् ।

– सबु सापकोटा, न्यूयोर्क

प्रतिक्रिया