अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२६ | Colorodo: 03:41

अमेरिकामा कोरोना महामारी फैलिन नदिन निषेधात्मक उपायहरु अप्रिल ३० सम्म लम्बिन सक्ने

बिआरटीनेपाल २०७६ चैत १६ गते २२:२२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी फैलिन नदिन अपनाइएका निषेधात्मक उपायहरु कम्तिमा अप्रिल ३० सम्म लम्बिन सक्ने बताउनुभएको छ । उहाँले अबको दुई हप्तामा कोरोनाका कारण उच्चदरमा मृत्यु हुने सम्भावना रहेकाले रोकथामका उपायहरु बढाउने तयारी गरेको बताउनुभयो ।

राष्ट्रपति ट्रम्पले सामाजिक दूरीसहितका निषेधात्मक नियमहरु अमेरिका भर बढाउनेबारे तयारी भएको पनि बताउनुभएको छ । इम्पेरियल कलेज लण्डनका वैज्ञानिकहरुले मार्च १६ मा प्रकाशित गरेको प्रतिवेदनमा सावधानी नअपनाए कोरोनबाट २२ लाख मानिसको मृत्यु हुने उल्लेख गरेपछि आफू सचेत बनेको उहाँको भनाई छ ।

यसअघि ट्रम्पले इस्टर अर्थात अप्रिल १२ देखि देशका केही क्षेत्र खुला गर्ने उपयुक्त समय भएको बताउनुभउको थियो । राष्ट्रपति ट्रम्पले कोरोना भाइरसमाथि विजय प्राप्त गर्ने एक मात्र उपाय भनेको सामाजिक दूरी नै रहेको उल्लेख गर्नुभयो । आउँदो जुनसम्ममा कोरोना भाइरसको संक्रमणबाट अमेरिका बाहिर निस्कने उहाँको दाबी छ ।

अमेरिकाले दैनिक एक लाखभन्दा धेरै भाइरसको जाँच गरेका कारण संक्रमित संख्या उच्च देखिएको ट्रम्पको भनाई थियो । यसअघि राष्ट्रपति ट्रम्पले गठन गरेको कोरोना भाइरस टास्क फोर्सका प्रमुख डा. एन्थोनी फाउकीले कोरोना भाइरसका कारण २ लाख अमेरिकी नागरिकको ज्यान जान सक्ने चेतावनी दिएका थिए ।

यसैबीच स्वास्थ्य सामग्रीहरू बोकेको पहिलो चिनियाँ विमान अमेरिका पुगेको छ । त्यसमा रहेका पञ्जा, शरीर ढाक्ने सुरक्षित पहिरन र मास्क महामारीबाट बढी प्रभावित न्यूयोर्क, न्यूजर्सी एवं कनेटिकट राज्यमा वितरण गरिने जनाइएको छ । आगामी दिनमा चीनबाहेक मलेसिया र भियतनामबाट समेत अमेरिकी स्वास्थ्यकर्मीलाई अत्यावश्यक सुरक्षा सामग्री आपूर्ति गरिने भएको छ ।

न्यूयोर्क सहरका मेयरले स्थानीय अस्पतालहरूमा मौज्दात् रहेका स्वास्थ्य सामग्रीहरू एक साताभित्रै सकिने बताएका छन् । अमेरिकाका आधाजसो कोरोना संक्रमित न्यूयोर्क राज्यमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू