अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१० | Colorodo: 22:25

११ प्रकारका मेडिकल सामग्री आज प्रदेशमा पठाइने

बिआरटीनेपाल २०७६ चैत १६ गते २२:२१ मा प्रकाशित

चीनबाट ल्याइएका ११ प्रकारका मेडिकल सामग्री आज प्रदेशमा पठाइने भएको छ । हिजो बिहान नेपाल वायु सेवा निगमको चार्टर्ड विमानबाट काठमाडौँ ल्याएका पीपीई र किटलगायतका सामग्री आज सम्बन्धित स्वास्थ्य संस्थामा पठाइने भएको हो । अब सरकारले आजदेखि देशभरका तोकिएका अस्पतालबाट बढीभन्दा बढी आशङ्कित व्यक्तिहरुको कोरोना सङ्क्रमण परीक्षण गर्ने भएको छ ।

आज विहान १० बजेभित्र सातै प्रदेशका सरकारलाई चीनबाट किनेर ल्याइएका उपकरण तथा अन्य सामग्री हेलिकोप्टरबाट लगेर हस्तान्तरण गरिने तयारी छ । चिनिया निजी कम्पनी र दूतावासमार्फत अनुदानमा आएका सामानसमेत सातै प्रदेशमा वितरण गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो ।

यसैबीच सरकारले काठमाडौँ बाहिर पनि कोभिड १९ सङ्क्रमणको जाँच गर्न आजबाटै ल्याबहरू स्थापना गर्दैछ । त्यसका लागि पनि आवश्यक सामग्रीहरू आइसकेकाले अब सरकारको ध्यान धेरैभन्दा धेरै मान्छेमा परीक्षण गरेर ढुक्क हुनेतर्फ केन्द्रित रहने प्रवक्ता देवकोटाले बताउनुभयो ।

काठमाडौँ बाहेक धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हिजोबाटै कोभिड १९ सङ्क्रमणको जाँच प्रयोगशाला सुरु भइसकेको छ । निजी व्यवसायीले किनेका र अनुदानकाका गरी करिब एक लाख जाँच गर्ने ‘टेस्टिङ किट्स’ नेपालमा छन् । सबै प्रदेशमा ती सामान र उपकरण पुगेपछि एक साताभित्रै परीक्षण गर्ने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू