अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१४ | Colorodo: 19:29

कतारबाट आएका तीन जनाको नमूना परीक्षणको रिपोर्ट नेगेटिभ

बिआरटीनेपाल २०७६ चैत १६ गते २२:०८ मा प्रकाशित

राँझा, फ्रान्सबाट कतार हुँदै आएकी कोरोना भाइरस सङ्क्रमित युवतीसँगै बाँके आएका तीन जनाको नमूना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएका उनीहरुसहित छ जनाको नमूना परीक्षणको लागि काठमाडौँ पठाइएकोमा नेगेटिभ रिपोर्ट आएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिनुभयो ।

यसअघि पहिलो चरणमा सात जनाको नमूना जाँच गर्न पठाइएकामा ती नमूना पनि नेगेटिभ नै आएको चन्दले बताउनुभयो । बाँकेमा कोरोना भाइरसको आशङ्का गरिएका २३ मध्ये दुई चरणमा गरी १३ को रिपोर्ट नेगेटिभ आएको र १० जनाको रिपोर्ट आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । चन्दका अनुसार तेस्रो चरणमा शनिबार थप १० जनाको नमूना परीक्षणका लागि काठमाडौँ पठाइएको छ ।

साथै कतारबाट आएकी दाङकी एक महिलाको कोरोना भाइरस रिपोर्ट ‘नेगिटिभ’ देखिएको छ । आइतबार ती महिलासहित बेलझुण्डीको अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा रहेका अर्का एक जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

हाल सङ्क्रमित युवती सवार कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानमा आएकी ती महिलाको रिपोर्ट नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले बताउनुभयो । उनीहरु दुवैको शनिबार स्वाब सङ्कलन गरी काठमाडौँ पठाइएको थियो । शनिबार ६ जनाको स्वाब पठाएकामध्ये अन्य चार जनाको रिपोर्ट भने आउने क्रममै छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू