अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२० | Colorodo: 03:35

आपतमा सापट दिनुपर्छ, झापड होइन

उषा आचार्य (ढकाल)

उषा आचार्य (ढकाल) २०७६ चैत १६ गते १७:१९ मा प्रकाशित

हामीले इतिहासदेखि न समय समयमा विभिन्न आपत् विपत्को सामना गर्दै आयौँ । अहिले पनि कोरोनाको कहरमा परी सङ्घर्ष गरिरहेका छौँ । हिन्दु संस्कारमा परोपकारलाई पुण्य मानी विपद्मा परेकालाई सहयोग गर्ने प्रेरणा दिइन्छ । हामीले त्यसलाई धार्मिक ग्रन्थसँगै बन्द गरेर आधुनिक बन्न खोजिरहेका छौँ । सरसापटमा चल्ने हाम्रो समाज एकलकाँटे बन्न थालेको छ । वर्तमान विश्व को भिड १९ को महामारीमा छ । सामाजिक सञ्जाल, समाचारपत्र, रेडियो, टेलिभिजनमा यसकै चर्चा परिचर्चा सामान्य नै बनेको छ । यो महामारी चिन्ताको विषय हो । यति बेला मलाई यसको भन्दा ठुलो अर्कै चिन्ताले छोपिरहेको छ ।

बिहान उठ्नासाथ फेसबुकमा पोस्ट्याइका सूचना हेर्ने बानी छ मेरो । आज पनि मोबाइलको स्क्रिनमा थकित औँला चालिरहेकी थिएँ । मेरा आँखा झट्ट एउटा पोस्टमा गएर अल्झिए । लेखिएको थियो ‘‘पि पिइ, मार्क्स, औषधीमा भ्रष्टाचार, त्यही सम्झौता नमिलेर सामान आउन ढिलाइ….’’ यो यथार्थ होला या नहोला पशुपतिनाथ नै जान्लान् तर यस्ता भ्रष्टाचार गर्न हामी अभ्यस्त भइसकेका छौँ । यस्तो महामारीका समयमा स्वास्थ्यजस्तो गम्भीर विषयमा भ्रष्टाचारको झापड हानेकोमा दुःख लाग्यो ।

सधैँ नकारात्मक समाचार कति हेर्नु र सुन्नु भन्दै दिक्क मानेर मोबाइल थन्काएँ । हामी सबैलाई थाहै छ नेपाल अहिले लक डाउनको स्थितिमा छ । लक डाउन घोषणा भएको दिनदेखि कोठामा थुनिएर बसेकी थिएँ । आज त खर्च पनि सकिएकाले चोकसम्म निस्कने निधो गरेँ । ठाउँ ठाउँमा प्रहरी तैनाथ थिए । त्यहाँ गएर अनुमति लिएँ । रासन पसलमा छिरेँ । दाल चामल त गोप्य वासमा पुगेका रहेछन् । मैले तिनको अनुहारसम्म हेर्न पाइन । चाउचाउको भाउ बढेर ३० रुपियाँ पुगेछ । त्यहाँ कालोबजारीको झापड सहेर तरकारी किन्ने ध्येयले यताउता हेर्न थालेँ । तरकारी मन्डी खाली थियो ।

टाढा एउटा तरकारी पसल खुला देख्दा खुसीको सीमा रहेन । हतार हतार त्यहाँ पुगेँ र तरकारीको भाउ सोधेँ ‘‘दाइ काउली कसरी ?’ ‘१३० रुपियाँ किलो’ ३० रुपियाँबाट बढेर १३० पुगेछ । ‘अनि गोलभेँडा कसरी ?’ ‘१६०’ त्यो पनि ६० बाट १६० पुगेछ । तरकारीले आफ्नो भाउ यसरी बढाइरहेको छ मान्छेको भाउ किन नबढोस् । यसरी मूल्यले आकाश छोएकोमा चुपचाप हिँड्न सकिन र भनेँ ‘दाइ यस्तो आपद्को बेला सहयोग गर्नुपर्नेमा मूल्य बढाएर बेच्दै हुनुहुन्छ हजुरको नैतिकताले दिन्छ ?’ ‘हामी सेवा गर्न बसेका होइनौँ । चाहिन्छ भने लैजानु । किचकिच किन गर्ने ? हामी पनि ज्यान जोखिममा राखेर पसल खोलेका छौँ ।’ प्रतिउत्तरमा नमिठो झापड पाएपछि त्यहाँ बस्नुको औचित्य देखिन । उसको भनाइ पनि एक प्रकारले ठिकै हो तर मानवमा मानवता हराएकोमा दुःख मान्दै फर्किएँ ।

कोठामा आएर खटियामा पल्टिएँ र सोचेँ ‘काठमाडौँमा बाँच्न मुस्किल रहेछ ।’ हुन त हामीले भूकम्प गएका समयमा पनि राहतका नाममा गरिएका भ्रष्टाचार, कालोबजारी देख्यौँ । सेवाकै नाममा गरिएका भ्रष्टाचारले कस्तो विचार जन्माउला ? बाँच्नु त छ । रासन पानी किन्न नसक्ने स्थिति देखेपछि आफूले काम गर्दै आएको विद्यालयमा फोन गरेँ र बाँकी रहेको तलबबाट १ महिनाको मात्र भए पनि तलबको व्यवस्था गरिदिन अनुरोध गरेँ । ‘म्याम हजुरलाई थाहा नै छ अहिले सबै लक डाउन छ । विद्यार्थीले फी तिरेका छैनन् । रिजल्ट पनि गर्न पाइएन । भर्ना अभियान पनि रोकिएको छ ।यस्तो समयमा तलबको व्यवस्था गर्न सकिँदैन सरि ।’ यस्तो उत्तर पाएपछि म रन्थनिएँ । आपत्मा सापट दिनुपर्नेमा जताततैबाट झापड पाएपछि म निक्र्याैलमा पुगेँ मान्छेमा निहित मृत्युको भयलाई लोभले किचिदिँदो रहेछ ।

प्रतिक्रिया