अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३५ | Colorodo: 05:50

अमेरिकामा कोरोनालाई जितेर घर फर्केका शम्भु मोक्तानको अनुभव

बिआरटीनेपाल २०७६ चैत १६ गते १६:३१ मा प्रकाशित

कोरोना भाइरसको संक्रमण भएर अस्पतालमा उपचार गरिरहेका वरिष्ठ भिडियोग्राफर शम्भु मोक्तान स्वस्थमा सुधार भई घर फर्केका छन् । एक हप्ता अस्पतालको उपचारपछि उनी आज साढे १० बजे डिस्चार्ज भएर घर फर्केका छन् । ‘भगवानको कृपा र मेरो स्वस्थ्य लाभ होस भनेर सबैले गरेको प्रार्थनाले मेरो स्वस्थ सुधार भई घर फर्केको छु’ कोरोना लागेर उपचारपछि घरमा पुगे बित्तिकै मोक्तानले एभरेष्टटाइम्सलाई आफ्नो अनुभव यसरी सुनाएका छन् । ‘ढाका क्लबमा भएको विहेपाटीनै मेरो अन्तिम कार्यक्रम थियो । त्यसपछि अब कार्यक्रममा नजाने घरमै बस्ने भनेर निर्णय गरेका थिए ।

घर बसेको भोलिपल्ट अलि अलि जीउ दुख्न थाल्यो । त्यसपछि दिन प्रति दिन जीउ दुख्ने, ज्वरो, हाछिउ र खोक्न थालेपछि सिडिएमए क्लिनिकमा गएर जाँच गरे । एक हप्ता जति टयानल र औषधी खाएर घरमै बिताए । त्यसपछि निमोनिया हुनका साथै एक्कासि सास फेर्न अति नै गारो हुन थालेपछि अस्पताल गए । त्यतिखेर मुखबाट बोली निस्कन निकै कठिन भइरहेको थियो । अस्पतालमा पुगेको बित्तिकै कोरोना भएको पुष्टि गरियो । सास फेर्न निकै कठिन हुनका साथै बोल्न सक्दैनथ्यो । अस्पतालमा जाँच गरेको केही दिनपछि फोन चलाउन मन लाग्यो । फोनमा धेरै मिसकलहरु आएको रहेछ । धेरै म्यासेजहरू पनि आएको रहेछ । त्यतिखेर सम्म परिवार र नजिकका आफन्तहरूलाई बाहेक कसैलाई पनि थाहा थिएन मलाई कोरोना लागेको भन्ने कुरा । मैले पनि कसैलाई सुनाएको थिएन । फोन आउँदा पनि कसैलाई बोल्न सक्दैनथ्यो । त्यतिखेर मनमा ३० प्रतिशत अब मर्छु होला भन्ने लागे पनि ७० प्रतिशत मर्दिन बाच्छु भन्ने लागी रहेको थियो ।

मनमा परिवारको बारे अनेक चिन्ता र सोचाइहरू आउँथ्यो तैपनि आफूले आफैलाई सम्हाल्दै धैय गरेर बसे । त्यति बेला मनमा म मात्र होइन कैयो बिरामीहरू यति बेला अस्पतालको शैयामा जीवन र मृत्युको दोसाँधमा सङ्घर्ष गरिरहेको महसुस गरे । अब मैले आफू कोरोना सङ्क्रमित भएको सबैलाई जानकारी दिएमा अरूलाई पनि फाइदा हुन्छ की भन्ने मनमा लागेर आफ्नो तस्बिर खिचेर आफ्नो बारेमा सार्वजनिक गरे । त्यो गर्नुको कारण आफू त कोरोना लागेर यहाँ पुग्यो अरूहरू नलागेकोहरु कोही बाहिर ननिस्कोस् अरूहरू सुरक्षित होस भन्नुको साथै आफ्नो स्वस्थ्य लाभको लागी पनि प्रार्थनाको आशा गदै मैले सार्वजनिक गरेको थियौ ।

भगवानको कृपा र सबैले मप्रति गरेको प्रार्थनाकै कारण मेरो स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुँदै आएपछि चिकित्सकको राय अनुसार आज घर आइपुगियो । यतिखेर मैले कोरोनालाई जितेको महसुस भइरहेको छु । अहिलेको यो कोरोना महामारीमा तपाइहरू कोही पनि बाहिर नजानुस् । साधारण रुघाखोकी लाग्यो भनेर अतिनु हुँदैन । जीउ दुख्यो र रुघाखोकी लाग्दैमा कोरोना लाग्यो की भनेर अस्पतालमा जानु हुँदैन । अलि अलि सन्चो हुँदै अस्पतालमा गएमा निरोगी पनि रोगी हुन सक्छ । श्वासप्रश्वासमा एकदमै कठिन भयो भने मात्र तुरुन्तै अस्पताल जानु पर्ने रहेछ । कोरोना नै लागे पनि आत्तिनु हुँदैन । रोगप्रतिरोधात्माक क्षमता बलियो हुनेले कोरोनालाई सजिलै जित्ने रहेछ । कोरोनाबाट गम्भीर बिरामी भएको हरू पनि वेलैमा उपचार पाएमा बाच्ने रहेछ । एभरेष्टटाइम्सबाट

प्रतिक्रिया