अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२१ | Colorodo: 22:36

जुकरवर्ग दम्पतिद्धारा करोनाभाइरस अनुसन्धानमा २५ मिलियन सहयोग

बिआरटीनेपाल २०७६ चैत १५ गते १५:०१ मा प्रकाशित

एजेन्सी । फेसबुक संस्थापक मार्क जुकरबर्ग र उनका श्रीमती प्रिसिला चानले कोरोना भाइरस विरुद्ध सङ्घर्ष गर्न २५ मिलियन डलर सहयोगको घोषणा गरेका छन् ।

चान–जुकरबर्ग इनिसियटिभ मार्फत कोरोना भाइरस विरुद्ध अभियान चलाइरहेका जुकरबर्ग दम्पतीले बिल एण्ड मेलिण्डा गेट्स फउण्डेशनलाई कोरोना भाइरसको औषधी पत्ता लगाउन अनुसन्धानका लागि उक्त रकम दिने भएको हो ।

‘गेट्स र अरूसँग थेरापेटिक्स एक्स्लेरेटर भनिने कोरोना भाइरस उपचारमा हातेमालो गर्न पाउँदा चान–जुकरबर्ग इनिसियटिभ गर्वित छ,’ चानले सिबिएस दिस मर्निङमा दिएको अन्तर्वार्तामा भनेकी छन् । उनका अनुसार सहयोग रकम कोरोना भाइरस उपचार गर्न भूमिका खेल्ने सम्भावित औषधीहरूको खोजी गर्नु हो ।

जुकरबर्गले एउटै औषधीले एकभन्दा बढी रोगको उपचार गर्न सक्ने सोचका आधारमा यो अभियानमा सहभागी भएको बताए । ‘परीक्षणबाट सुरक्षित पुष्टि भएका औषधीहरु कम क्षतिमा कोरोना भाइरस उपचार गर्न र यसको असर कम गर्न कति प्रभावकारी छन् भनेर जाँचिने छ,’ उनले भने ।

कोरोना भाइरसको संक्रमणबाट जोगाउन फेसबुकले आफ्नो ४५ हजार स्टाफलाई घरबाट काम लगाइरहेको छ । घरबाट काम गर्न असमर्थ स्टाफलाई पनि पुरै तलब दिएको छ । जुकरबर्ग दम्पती यसबाट अन्य कम्पनीका लागि उदाहरणीय काम गरेको भन्ने विश्वासमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू