अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०३ | Colorodo: 09:18

नजिस्किऔँ, सजग बनौँ

सरस पाण्डे २०७६ चैत १४ गते २१:२५ मा प्रकाशित

कोरोनाको आतङ्कले गाउॅं पुर्‍याएदेखि दैनिक रूपमा खाना, खाजा बनाउने कामले मलाई बाॅंधिदिएको छ । घर गएको भोलिपल्ट नै जेठो छोरोले म:म, समोसा,आलु परौठा….. को लिस्ट बनाएर दैनिक छुट्टाछुट्टै खाजा बनाउनुपर्ने अर्डर दिएकोले मेरो दैनिकी झनै व्यस्त बनिरहेको छ ।हिजो समोसा बनाउनको लागि पिठो मुछ्दै थिएँ फोन आयो ।

हात भरी पिठो लागेकोले श्रीमानलाई ल न मेरो मोबाइलको फोन रिसिभ गरिदिनु न भनेँ । फोन रिसिभ गरेर स्पिकरमा राखेर ल बोल भन्नुभयो । एउटा साथीले “ओइ सरस सुनन मेरो फेसबुकको भएजती सबै फोटोमा … ले कमेन्ट गरेर हैरान पारी त्यसलाई कमेन्ट डिलिट गर्दे भनन ।” के भयो त गरोस् न त.. मैले वाक्य टुङ्ग्याउन नपाउॅंदै “ छिटो भन्देऊ न यार बुढी रिसाएर हैरान छ ।” भन्यो। फोन स्पिकरमा भएकोले सबै जना उसले बोलेको सुनेर मुसुमुसु हाॅंसि रहनु भएको थियो । ल ल हुन्छ भनेर फोन राखेर म आफ्नै काममा तल्लीन भएँ ।

बेलुकाको खाना खाएर सुत्ने तरखर गर्दै थिएँ । उमाको फोन आयो । के छ कसो छ भनेर हालखबर सोधेपछि साथीहरूले पुराना फोटोमा कमेन्ट गरेर हैरान पारेको र ती हैरान पार्ने मध्ये एकदुईजनालाई त ब्लक पनि गरेको भनेपछि बिहान फोन गर्ने साथीको याद आयो । मैले उसले भनेको काम नै गर्न बिर्सेछु । एक छिन पख है भनेर उसको फोन काटेर कमेन्टवालालाई फोन गरेँ। के हो काम पाइनौ कस कसको फोटोमा कमेन्ट गरेको दिनभरि भनेको त केटी हाॅंस्दै “बल्ल तेह्र जना पुग्यो” भन्छे । सॅंगै पढेकी साथी ऊ जो सॅंग पनि जिस्किहाल्ने स्वभावकी छे । अरू कसैको वास्ता नगर्ने आफूले गर्न लागेको कामले अरूलाई असर पर्छ भन्ने सोच पनि उसमा छैन ।

बिहान फोन गर्ने साथीको नाम लिएर त्यसको फोटोमा कति कमेन्ट गरेकी उसको बुढीले गाली गरिछे काम पाइनस् भनेर गाली गरेर फोन राखेँ । टाउको साह्रै दुखेकोले उमासँग पुनः एक छिन फोनमा कुरा गरेर म सुतेँ। बिहान उठेर चिया खाॅंदै हाम्रो पात्रो एप्समा समाचार हेर्नुपर्‍यो भनेर डाटा अन गरेको त फेसबुकमा टुंगटुंग गर्दै उनन्चास ओटा नोटिफिकेसन, नौ ओटा म्यासेज आयो । पहिला म्यासेज हेरेँ। तीन जना साथीले चाहिॅं “तिम्रो भए जति सबै फोटोहरूमा फलानोले कमेन्ट गरेछ त ।” भन्ने म्यासेज गरेका रहेछन् । अरूले हालखबर सोधेका रहेछन् ।

म म्यासेज रिप्लाई नगरी नोटिफिकेसनतिर लागेँ ।नभन्दै एउटा छुकछुके साथीले सबै फोटोहरूमा लाईक र कमेन्ट गरेको रहेछ। फेसबुक भरी साथीहरूका पुराना पुराना फोटोहरूमा कमेन्टको वर्षा नै देखेपछि मानिसहरूको अस्तव्यस्त जीवनशैली देखेर दिक्क लाग्यो। मेरो श्रीमानले छुकछुके साथीलाई फोन गरेर के हो …जी कति जाॅंगर लागेको भन्नुभयो । म रिसाइरहेको देखेर “ तिमीले सामाजिक सञ्जालमा हालेको फोटोमा कमेन्ट जसले पनि गर्न पाउॅंछ नि यस्तो कुरामा पनि रिसाउने हो, साथीले सम्झेकोमा खुसी पो हुने त ।” भनेपछि म दङ्ग परेँ । यस्तै कमेन्टको कारण कतिका श्रीमानश्रीमतीको झगडा परिरहेको छ धन्न मेरो श्रीमान् बुझ्ने हुनुहुन्छ ।

विश्व रोइरहेको छ । यस्तो भयावह अवस्थामा पनि मानिसहरूमा चिन्तन शीलता छैन । दिनानुदिन धेरै देशमा मानिसको मृत्युदर बढिरहेको छ । लक डाउन भएदेखि हामी सबै घरभित्र बसिरहेका छौँ। कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले यस्तो मानवीय सङ्कटको समयमा सरकारको आग्रहलाई कसैले नकार्न मिल्ने अवस्था छैन । सामाजिक सञ्जालको सही सदुपयोग नगरेर मजाक गर्ने प्रवृत्तिले के सन्देश देला ? जिस्किने, ठस्किने,मस्किने, झस्किने सबैको छुट्टाछुट्टै समय हुन्छ । झस्किने समयमा जिस्किने र मस्किने समयमा ठस्किने गर्नु भनेको कस्तो समयमा के काम गर्ने भन्ने कुराको ज्ञात नहुनु हो ।

समयको ज्ञात नहुनु भनेको आफू सयौँ कदम पछाडि पर्नु हो । त्यसैले, अनावश्यक कुरामा ध्यान दिनुभन्दा विभिन्न पुस्तकहरू पढौँ, फिल्म हेरौँ, करेसाबारीमा काम गरौँ, भान्छामा परिवारलाई सहयोग गरौँ, सकारात्मक सोचौँ ।सामाजिक सञ्जालको सही सदुपयोग गरौँ। नेपालमा पनि रोग भित्रिसकेको छ । घरबाट बाहिर ननिस्किने, व्यक्तिगत दुरी कायम गर्ने, नचिनेको अपरिचित मानिस देखिएमा सम्बन्धित निकायमा सूचना दिने काम गरौँ। घरभित्र भान्छामा प्रयोग हुने अदुवा, गुर्जो, बेसार, धनीयाॅं लगायतका औषधीजन्य खानेकुरा सेवन गर्ने गरौँ। एक अर्कालाई छेड हान्ने, खुट्टा तान्ने, कुरा काट्ने बानी त्यागी मानवीय भावना विकास गरौँ। कसको आयु कति छ कसैलाई थाहा छैन त्यसैले यस आपतको घडीमा सामाजिक सद्भाव कायम गरौँ। असल बनौँ। सभ्य बनौँ। मानिस चेतनशील प्राणी हो भन्ने कुरा नबिर्सौँ।

जय विश्व !

धुनिबेसी-९,धादिङ