अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२५ | Colorodo: 08:40

क्वारेन्टाइनको गाइडलाइन पालना गर्न सबैसँग नेपाल सरकारको आग्रह

बिआरटीनेपाल २०७६ चैत १३ गते ५:३३ मा प्रकाशित

स्वास्थ्य मन्त्रालयले क्वारेन्टाइनमा बस्न सरकारले तयार गरेको गाइडलाइनको पालना गर्न स्थानीय निकायलगायत सबै सर्वसाधारणहरुसँग आग्रह गरेको छ। कोभिड १९ बारे स्वास्थ्य मन्त्रालयको नियमित लाइभ पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव यादव कोइरालाले स्थानीय पालिकाहरुले विदेशबाट आएका व्यक्तिलाई आफ्नो एरियामा राख्न र लक्षण देखिए आइसोलेसनमा राख्न आग्रह गर्नुभएको छ । त्यस्तै, श्वासप्रश्वासमा असजिलो देखिए वा अझ गम्भीर लक्षण देखिए स्वाब परीक्षण गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

सचिव कोईरालाले पालिकाका प्रमुखहरुलाई दैनिक क्वारेन्टाइन स्थलको भ्रमण गर्न र त्यसबारे गृहमन्त्रालयलाई लेखिपठाउन आग्रह गर्नुभयो । त्यस्तै पीपीई गाइडलाइनबारे जानकारी गराउँदै उहाँले रुघाखोकी र ज्वरो आएको छ भने सुरक्षित तरिकाले जाँच्न र लक्षण देखिएमा अर्को हस्पिटलमा राखेर विशेष उपचार गर्न पनि आग्रह गर्नुभएको छ ।

सरकारले २५ वटा हस्पिटललाई हब हस्पिटल तोकेको उल्लेख गर्दै कोईरालाले फिबर क्लिनिक सञ्चालन गर्न ती अस्पताललाई १० लाखका दरले रकम उपलब्ध गराएको जानकारी दिनुभयो । ७ सयभन्दा बढी परीक्षण गर्दा तीनवटाबाहेक अन्य नेगेटिभ आएको उल्लेख गर्दै सचिव कोइरालाले बाहिरबाट आएका व्यक्ति क्वारेन्टाइनमा बस्न र ज्वरो देखिँदा तथा खोकी लाग्दा रोगको निश्चित नहुञ्जेल नअत्तालिन पनि आग्रह गर्नुभयो ।

विश्व स्वास्थ्य संगठनको निर्देशिका अनुसार ६ फिट टाढा बस्न र बाहिर जाँदा साबुनपानीले हात धुन पनि कोईरालाले आग्रह गर्नुभयो । कोरोना आयातीत रोग भएकाले कसैसँग घुलमिल नगरेको अवस्थामा संक्रमण हुने संभावना न्यून रहने उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू