अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२७ | Colorodo: 04:42

यूएईमा एक नेपाली आफ्नै कोठामा मृत भेटिए

बिआरटीनेपाल २०७६ चैत १३ गते ४:४६ मा प्रकाशित

संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा एक नेपाली कोठामै मृत भेटिएका छन् । आबुधावीमा रहेको बेभ्रेली हिल्स मेडिकल सेण्टरमा कार्यरत बेलकोटगढी–१२, नुवाकोटका ३७ वर्षीय हरिशरण डोटेल आइतबार आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । डोटेलको मृत्युबारे गएको सोमबार दूतावासमा जानकारी आएपछि दूतावासले कम्पनीमा सम्पर्क गरेको थियो ।

कम्पनीको निवास छोडेर बाहिर बस्दै आएका हरिशरण काममा लगातार दुई दिनसम्म नआएको भन्दै कम्पनीले खोजी गरिरहेको जनाएको थियो । दूतावासका अनुसार कोठामा झुन्डिएर आत्महत्या गरेको भन्दै सँगै बस्दै आएकी नुवाकोटकै एक महिला र अन्य दुई पुरुष दूतावासमा पुगेका थिए । मृत्यु शंकास्पद भएको परिवारको दावी छ । अनुसन्धानका लागि भन्दै हरिशरणसँग बस्दै आएकी महिलालाई स्थानीय प्रशासनले पक्राउ गरेको छ ।

हरिशरणको मृत्युको पुष्टि भए पनि मृत्युको कारणबारे अनुसन्धान जारी रहेकोले यसै भन्न नसकिने नेपाली दूतावासले जनाएको छ । अनुसन्धान सकेर प्रशासनले शव लैजान अनुमति दिएपछि मात्र शव नेपाल पठाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू