अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१० | Colorodo: 13:25

फ्रान्सबाट कोरोना संक्रमितसँगै जहाजमा आएका तीनैजना क्वारेन्टाइनमा

बिआरटीनेपाल २०७६ चैत १२ गते २२:२२ मा प्रकाशित

कोरोना संक्रमित भनिएकी १९ वर्षीया किशोरी चढेको जहाजमा आएका बाँकेका तीनजनालाई क्वारेन्टाइनमा राखिएको छ । फ्रान्सबाट कतार हुँदै आएको जहाजमा बाँकेका चार जना रहेको र उनीहरुलाई क्वारेन्टाइनमा राख्न बाँके प्रहरीमा परिपत्र आएपछि प्रहरीले बुधबार तीन जनालाई नेपालगञ्ज ल्याएर क्वारेन्टाइनमा राखेको हो।

एकजना भने बाँकेको भनिएपनि उनी बर्दियाको हुन सक्ने आशंका गरिएको छ । तिनै जनालाई क्वारेन्टाइन बनाइएको महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जमा राखिएको छ । उक्त जहाजमा सवार उनीहरुको नाम, नागरिकता नम्बर खुलाइएको भएपनि ठेगाना खुलेको थिएन । प्रहरीले जिल्ला प्रशासन कार्यालयमा गएर नागरिकता नम्बर भिडाएपछि उनीहरुलाई ल्याएर क्वारेन्टाइनमा राखिएको हो । १४ दिन क्वारेन्टाइनमा राखेर उनीहरुको स्वास्थ्य अवस्था बुझ्ने र उनीहरुमा संक्रमण देखिएमा उनीहरुको परिवारलाई समेत क्वारेन्टाइनमा राख्ने तयारी भएको छ ।

सरकारले चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै आएको जहाजमा सवार सबैलाई क्वारेन्टाइनमा राख्ने नीति लिएसँगै सबैको नाम, ठेगाना पत्ता लगाएर सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा राख्न थालिएको छ । सरकारले खोजतलास गरिरहदा बाँकेका ती तिन जना घरमा बसिरहेका थिए । उनीहरु बिरामी छैनन् ।

बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले साईगाउँ, पिप्रहवा र वनकटवाका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिनुभएको छ । नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसलाई क्वारेन्टाइनको रुपमा विकास गरिएको छ । दुई दिनअघि भारतबाट आएका नेपालीलाई केहीबेर त्यही राखिएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले तिन जनालाई अहिले क्याम्पसमा राखिएपनि १४ दिनसम्म कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।

बाँकेमा लायन्स डेन्टल अस्पताललाई ४० बेडको आइसोलेसन अस्थायी अस्पताल बनाइएको छ । खजुराको क्यान्सर अस्पताललाई आइसोलेसन कक्ष बनाउने काम भइरहेको छ । अन्य पालिकाहरुले पनि आ–आफ्नो ठाउँमा आइसोलेसन कक्ष बनाइरहेका छन् । विश्वमा आतंक मच्चाएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सीमावर्ती जिल्ला बाँकेमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा टाक्सफोर्स गठन गर्दै विभिन्न उपसमितिहरु बनाइएको छ।

एक करोड ६० लाखबढीको कोष बनाइएको छ । प्रदेश सांसद कृष्णा केसी नमुनाले गरी कोभिड १९ सहायता कोष स्थापना गरी ५० हजार राख्नु भएको छ । यो कोषको रकम दैनिक ज्यालादारी गरी जीवन गर्नेप्रति लक्षित हुने सांसद केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू