अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५४ | Colorodo: 02:09

अमेरिकामा २० खर्ब डलरको आर्थिक सहायता प्याकेजमा सहमति

बिआरटीनेपाल २०७६ चैत १२ गते ८:२२ मा प्रकाशित

अमेरिकाले कोरोना भाइरसका कारण थलिएको आर्थिक क्षेत्रको उद्धारका लागि २० खर्ब डलरको आर्थिक सहायता प्याकेज ल्याएको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट समस्यामा परेको आर्थिक क्षेत्रलाई सहायता दिन २० खर्ब डलरको सहायता कोष बनाउन अमेरिकी संसदमा सहमति जुटेको हो ।

सत्तारुढ रिपब्लिकन र विपक्षी डेमोक्रेटबीच निकै चरणको वार्तापछि अमेरिकी माथिल्लो सदन सिनेटमा सहायता प्याकेजमा सहमति बनेको सिनेटर मिट्च मक्कोनेललाई उधृत गर्दै अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ । प्याकेजमा अमेरिकी नागरिकलाई प्रत्यक्ष भुक्तानी, साना व्यवसाय, बेरोजगार राहत र हवाई सेवा प्रदायकलाई वित्तीय सहयोग योजना छन् ।

कोरोना भाइरसको कारण अमेरिका सबैजसो शहर बन्द छन् भने बेरोजगारी ३० प्रतिशतसम्म पुग्नसक्ने अनुमान छ । २० खर्बको यो आर्थिक सहायता प्याकेज अमेरिकाले ल्याउन लागेको अहिलेसम्मकै ठूलो आर्थिक सहायता कार्यक्रम हो । यो सहायता प्याकेज अमेरिकामा एक वर्षमा उठ्ने कूल राजस्वको आधाभन्दा बढी हो ।

प्याकेज अन्तरगत बार्षिक ७५ हजार डलरसम्म आम्दानी गर्ने एकल व्यक्तिले १२ सय डलर राहत चेक पाउनेछ भने बार्षिक १ लाख ५० हजार सम्म आम्दानी गर्ने विवाहित जोडीले २४ सय डलर पाउनेछन् । साथै प्रत्येक बच्चको हकमा नीजको परिवारलाई ५ सय डलर उपलब्ध गराईने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू