अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४१ | Colorodo: 13:56

कोभिड–१९ : इटलीपछि स्पेन, जर्मनी र फ्रान्समा सङ्क्रमण बढ्दै , कुल १९ हजार ६ सय ७ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ चैत १२ गते ८:१४ मा प्रकाशित

कोभिड–१९ अर्थात् नोवेल कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिँदै गएपछि विश्व स्वास्थ्य सङ्गठनले सबै देशलाई सचेत रहन आग्रह गरेको छ । भाइरसका कारण चीनको वुहानभन्दा पनि बढी युरोपियन मुलुक इटलीमा सबैभन्दा बढी मानवीय क्षति भएको छ ।

इटलीपछि युरोपका स्पेन, जर्मनी, फ्रान्स, बेलायत लगायतका मुलुकमा दिनप्रतिदिन भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या बढ्दो क्रममा छ । बुधबार दिउँसोसम्म इटालीमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ८ सय २० पुगेको छ। त्यस्तै इटालीमा ६९ हजार १ सय ७६ जना संक्रमित भएका छन् । इटालीमा करिब ८ हजार संक्रमित निको भएका छन्।

स्पेनमा मृत्यु हुनेको संख्या २७ प्रतिशतले बढेको छ ।स्पेनमा थप ४ सय ४३ जनाको मृत्यु भएको छ भने थप ५ हजार ५ सय ५२ जनामा संक्रमण देखिएको छ । स्पेनमा ४७ हजार ६ सय १० जना संक्रमित छन् भने तीमध्ये ५ हजार ३ सय ६७ जना निको भएका छन् ।

त्यस्तै संक्रमणको हिसाबले चीन र इटालीपछि तेस्रो नम्बरमा रहेको अमेरिकामा बुधबार दिउँसोसम्म ७ सय ८४ जनाको मृत्यु भएको छ। अमेरिकामा संक्रमितको संख्या ५४ हजार ९ सय ६८ पुगेको छ।

चीनमा भने पछिल्लो समय कोभिड–१९ को प्रकोप कम हुँदै गइरहेको छ। मंगलबार चीनमा थप ४ जनाको मात्रै मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। त्यस्तै मंगलबार थप ४७ जनामा भाइरसको संक्रमण देखिएको छ। बुधबार दिउँसोसम्म चीनमा मृत्यु हुनेको संख्या ३ हजार २ सय ८१ पुगेको छ। ८१ हजार २ सय १८ मध्ये ७३ हजार ६ सय ५० जना निको भएको पनि आयोगले जानकारी दिएको छ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड– १९ का कारण अहिलेसम्म १९ हजार ६ सय ७ जनाको मृत्यु भइसकेको छ। त्यस्तै ४ लाख ३५ हजारभन्दा बढी संक्रमित हुँदा एक लाख ११ हजारभन्दा बढी निको भएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू