अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५२ | Colorodo: 00:07

बस्ताकोटीको “सँगै सँगै” गजलमा वसन्तको स्वर

बिआरटीनेपाल २०७६ चैत ११ गते १०:३७ मा प्रकाशित

कञ्चन म्युजिक इन्टरटेनमेन्टले हालै “सँगै सँगै” बोलको कर्णप्रिय गजल अमेरिकाको नर्थ क्यारोलाइनाबाट आफ्नो यु ट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ । गजलकार डा ऋषि बस्ताकोटीको रचना र वसन्त खड्काको स्वर तथा सङ्गीत रहेको उक्त गजलमा दीप तुलाधरले सङ्गीत संयोजन गरेका छन् । गजलको भोकल रेकर्डिङ नर्थ क्यारोलाइना निवासी समीर सायमीले गरेका हुन् भने म्युजिक रेकर्डिङ र सम्पादनको काम काठमाडौँको कमलपोखरी स्थित भ्वाइस रेकर्डिङ स्टुडियोमा गरिएको हो । यो गजलको ध्वनि सम्पादन (अडियो एञ्जिनियारिङ्ग) दीप तुलाधरले गरेका छन् भने दृश्य सम्पादन अल्बर्ट बस्ताकोटीको रहेको छ ।

“कञ्चन” गीत गजल एल्बमको तयारीमा रहेका वसन्त खड्काले “सँगै सँगै” गजल कञ्चन एल्बमको शीर्ष गजलको रूपमा रहने बताए ।

गायनमा तीन दशक लामो अनुभव बनाइसकेका “छाल झैँ कपाल” र “पिउँदा पिउँदा ” जस्ता कालजयी गीतका गायक वसन्त खड्का र गजल लेखनमा दुई दशक भन्दा लामो इतिहास बनाएका डा ऋषि बस्ताकोटीको सहकार्यमा आएको “सँगै सँगै” गजलले पनि श्रोताहरूको मन जित्ने विश्वास गरिएको छ ।

गजलकार डा बस्ताकोटीका अनुसार कोरोना भाइरसले विश्वलाई नै त्रस्त बनाएको समयमा सार्वजनिक गरिएको यो गजलले सुख दुखमा पारिवारिक साथ सहयोगको महत्त्व र आपसी प्रेमलाई झल्काउँछ । गजलमा:

“सँगै सँगै हाँस्न पाइयोस्, सँगै रुन पाइयोस्
सुखदुख जे जे परोस्, सँगै हुन पाइयोस्”

जस्ता सन्देशमूलक र सुललित शब्दहरू रहेका छन् । घरमा बसेर पारिवारिक वातावरणमा सुन्न उपयुक्त खालको यो गजल तलको लिङ्कमा सुन्न/ हेर्न सकिन्छ ।

प्रतिक्रिया