अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३७ | Colorodo: 15:52

कतार एयरवेजमा नेपाल आएका मध्ये १२५ जनाको पहिचान, सबैको स्वास्थ्य परिक्षण गरिदै

बिआरटीनेपाल २०७६ चैत ११ गते ७:२६ मा प्रकाशित

नेपाल प्रहरीले कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने अन्य १२५ जना नेपालीको ठेगाना पत्ता लागेको बताएको छ । प्रहरीले देशका विभिन्न भागमा रहेका उनीहरूलाई स्वास्थ्य जाँच र क्वारन्टीनजस्ता थप सतर्कता अपनाउन आफूले मतहतका निकायलाई पत्राचार गरेको जनाएको छ । चैत ४ गतेको कतार एअरवेजको विमानमार्फत् उनी नेपाल आएको अध्यागमन अधिकारीहरूले पनि पुष्टि गरेका छन् । त्यो दिन कतार एअरवेजका तीनवटा उडानमार्फत् ४६९ जना नेपाल आएका थिए । फ्रान्सबाट कतार हुँदै फर्किएकी ती १९ वर्षीया विद्यार्थी १५८ जना यात्रु बोकेको क्युआर ६५२ उडानमार्फत् आएको बुझिएको छ ।

ती किशोरी नेपाल आएको दिन क्युआर ६५०, क्युआर ६५२ र क्युआर ६५३ गरी कतार एअरवेजले तीनवटा उडान गरेको र तीनवटै उडानका सबै यात्रुको विवरण प्रहरीलाई उपलब्ध गराइएको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल अध्यागमन कार्यलयका प्रमुख सागर आचार्यले बताउनु भयो । उहाले ती यात्रुको नाम आफूहरूलाई पनि नखुलाइएको भन्दै सबै यात्रुको पासपोर्टको प्रतिलिपिसहितका विवरण प्रहरीलाई बुझाइएको जानकारी दिनुभयो ।

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले एअरलाइन्सबाट यात्रुहरूको विवरण प्राप्त भएसँगै यात्रुहरू पहिचान गर्ने प्रयास अघि बढाइएको जनाउनु भयो । उहाँले भन्नुभयो, ‘कतार एअरवेजको उक्त जहाजबाट आएका १५८ यात्रुमध्ये १२५ जना नेपालीको घरको ठेगाना हामीले पत्ता लगाइसकेका छौँ । बाकी नेपाली यात्रुको ठेगाना पत्ता लगाउने काम भइरहेको छ ।’

फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी १९ वर्षीया विद्यार्थीमा कोरोनाभाइरस सङ्क्रमण भएको मङ्गलवार पुष्टि भएपछि प्रहरीले उक्त जहाजमा यात्रा गरेका अन्य नेपालीको खोजी शुरू गरेको हो । नाम र ठेगाना गोप्य राखिएकी ती नेपाली विद्यार्थीको शुक्रराज सरुवा रोग नियन्त्रण अस्पताल टेकु, काठमाण्डूमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कतार एयरवेजको उक्त जहाजमा नेपाल फर्किएका सबै नेपालीलाई सम्पर्क गर्न प्रयास भइरहेको बताउनु भयो । ‘कोही व्यक्ति स्वेच्छिक रूपमा सम्पर्कमा आउनु भएको छ । उनीहरूलाईको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले पूर्वाधार तयार गरेको छ’, देवकोटाले भन्नुभयो । अन्लाईन सगरमाथाबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू