अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१२ | Colorodo: 09:27

भारततर्फको सीमामा अलपत्र नेपालीलाई आज एक दिन स्वदेश फर्कन दिने सरकारको निर्णय, निजी क्षेत्रसंग समन्वय गरी मेडिकल सामाग्री ल्याईने

बिआरटीनेपाल २०७६ चैत ११ गते ७:१२ मा प्रकाशित

नेपाल सरकारले भारततर्फको सिमामा रोकिएका नेपाली नागरिकहरुलाई अन्तिम पटकका लागि आज एक दिन छाडने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले नेपाल प्रवेश गर्नेहरुलाई प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी १४ दिन क्वारेन्टाइनमा बस्ने सर्तमा घर जान दिने व्यवस्था गरेको बताउनुभयो ।

यसैगरी कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणको नामका कुनैपनि संघसंस्थाले छुट्टै कोष खडा गर्न नपाउने भएको छ । सरकारले संघसंस्थालाई छुट्टै कोष बनाउन नदिने निर्णय गरेको छ । कुनैपनि संघसंस्थाले कोष खडा गरेर पैसा उठाउन नपाउने आजको बैठकले निर्णय गरेको छ ।

कसैले कोष खडा गरिसकेको भए आफ्नो संस्थामा काम गर्ने कर्मचारी तथा आफू मातहतका व्यक्तिबाट मात्रै रकम जम्मा गर्न पाउने र त्यसलाई प्रत्येक साता सरकारले स्थापना गरेको कोषमा बुझाउनुपर्ने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिनुभयो । बैठकले स्वास्थ्य सामग्री तथा किट ल्याउनको लागि निजी क्षेत्रसँग समन्वय गर्ने निर्णय भएको समेत गरेको छ । सरकारले मेडिकल सामग्री र किटहरु चीन र भारत दुवै मुलुकबाट ल्याउन परराष्ट्र मन्त्रालयले परामर्श गरिरहेको मन्त्री खतिवडाले बताउनुभयो ।

त्यसबाहेक निजी क्षेत्रले कतैबाट स्वास्थ्य सामग्री र किटहरु निश्चित दिनभित्र ल्याउन सक्ने भए सरकारले यातायातको सुविधा एवं हवाई सुविधा उपलब्ध गराउने निर्णय भएको समेत बताउनुभयो । कोरोना संक्रमणको लक्षण देखिएमा धुलिखेल अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान, वीर अस्पतालमा तत्कालै यन्त्र उपकरण जडान गर्ने र प्रदेश स्तरमै ल्याव स्थापना नहुँदा सम्म छिटो यातायातको व्यवस्था गरेर टेकुस्थित ल्याबमा स्वाब परीक्षणका लागि ल्याउने व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले सरकारले जारी गरेको लक डाउन नागरिक स्तरबाट पालना भएको र छिटफुट रुपमा अवज्ञा भएपनि थप कडाइ गर्ने अवस्था नभएको खतिवडाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू