अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३७ | Colorodo: 22:52

सीमा पोखरेलको ‘प्रेमार्पणम्’ को विमोचन

बन्धु पोख्रेल, उदघोषण पत्रीका बिराटनगर २०७६ चैत ८ गते ७:२६ मा प्रकाशित

विराटनगर, अमेरिकाको कोलोराडोमा बस्दै आएकी गायिका सीमा पोखरेलले अङ्ग्रेजी भाषामा लेखेका कवितासंग्रह ‘प्रेमार्पणम्’ को विमोचन शुक्रवार विराटनगरमा गराएकी छिन् । राम्रै जमघट गरी कवितासंग्रह विमोचन गर्ने उनको कार्यक्रम भने कोरोना भाइरसका कारण प्रभावित भएको छ ।

‘जुन तरिकाले सङ्ग्रहको विमोचन गर्छु भनेर सोचेकी थिएँ, त्यसो गर्न कोरोनाको विश्वव्यापी महामारीले पाइएन’ पोखरेल भनिन्, ‘सानो कार्यक्रम भए पनि विमोचन कार्यक्रम सफल भएको ठानेकी छु ।’ उनको कृतिको विमोचन कार्यक्रम विराटनगर–१७ स्थित पूर्वाञ्चल बाल सेवा आश्रममा भएको हो । उनी आश्रमकी अध्यक्ष सीता पोखरेलकी कान्छी छोरी हुन् । उनको कृतिको विमोचन सनातन धर्म सेवा समितिका अध्यक्ष शिवदत्त भट्टराईले गरेका हुन् । कविता विमोचन गर्दै भट्टराईले अङ्ग्रेजी भाषामा लेखिएको कविता भए पनि मानिसको भावना भने वैश्विक रूपमा एकै खालको हुने बताए । उनका कवितामा मानिसको हृदयसम्म हुने उथलपुथल भावनाहरू समेटिएका छन् । जसलाई कवि पोखरेलले एक गहिरो आत्माको कविताहरू भनेकी छन् ।

सीमा पोखरेलको कवितासंग्रह ‘प्रेमार्पणम्’को विमोचन गर्दै सनातन धर्म सेवा समितिका अध्यक्ष शिवदत्त भट्टराई, पूर्वाञ्चल बाल सेवा आश्रमकी अध्यक्ष सीता पोखरेल । 

‘मानिसका मनमा कति हलचल पैदा हुन्छन्’ कवियित्री पोखरेलले भनिन् ‘आम मानिसका मनमा खेल्ले भावनाझैँ मैले पनि हृदयको उछाल कवितामार्फत पोख्ने प्रयास गरेकी हुँ।’ उनले केही कविताका अंश र हरफ अमूर्तझैँ लागे पनि गहिरो चिन्तनमा ती अर्थ प्रधान हुने आफ्नो विश्वास रहेको बताइन् । उनी आफ्नो कृतिलाई आफू स्वयंको प्रतिबिम्ब भएको बताउँछिन् । ‘यो मेरो आफ्नै प्रतिबिम्ब हो, मैले मेरो इन्द्रिय चेतलाई सम्पूर्ण रूपमा व्यक्त गर्न नसके पनि केही शब्दमा व्यक्त गर्ने प्रयास मात्रै गरेकी हुँ ।’ पोखरेलले भनिन् । उनले आफूले गरेको ईश्वरीय प्रेमका कारणले नै कृति प्रकाशन गर्न सम्भव भएको बताइन् ।

झन्डै दुई दशकदेखि अमेरिकामा परिवारसहित बस्दै आएकी सीमा बेलाबेला नेपाल आउने गर्छिन् । उनले एञ्जेल फाउन्डेसनमार्फत आश्रमलाई सहयोग पनि गर्दै आएकी छिन् । उक्त फाउन्डेसनले कोसी अस्पतालको बच्चा वार्डलाई पनि सहयोग गरेको छ । सीमा गायिका पनि हुन् । उनका केही गीत नेपाल टेलिभिजन र रेडियो नेपालमा रेकर्ड गरिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू