अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०० | Colorodo: 04:15

हामी नेपाली ग्लोबल: लक्ष्य महान्; पथ दुर्गम

डा. दुर्गा दाहाल, “अनुभव” २०७६ चैत ८ गते ७:०७ मा प्रकाशित

अमेरिकामा भएका विभिन्न नेपाली सामाजिक सङ्घ संस्थाहरू मध्ये ‘हामी नेपाली ग्लोबल’ पनि एक हो । क़रीब दुई वर्ष अघि गठन भएको यो संस्थाले अद्यपरिमित राम्रै काम गर्दै आएको छ । एकै पटक आवेशमा आएर ठूल्ठूला कुरा गर्नु भन्दा सन्तुलित ढङ्गले असल व्यक्तिहरूको पहिचान गरी शनै- शनैः अघि बढ्नु र जनहितमा खटिनु स्वागतयोग्य कार्य हो ।

गफ जतिसुकै दिए पनि अपवाद बाहेक नेपालीहरू अमेरिकामा पैसा कमाउनै आएका हुन । बचेको अलिकति समय कसैले दिन्छ भने त्यसलाई सकारात्मक रूपमा नै लिनु पर्छ । पूर्णरूपेण कसैले समय दिओस् भन्नु त्यति व्यवहारिक नहोला । अतः धर्म र राजनीति भन्दा माथि उठेर यो संस्थाले अन्तर्राष्ट्रिय रूपमा जुन कार्यहरू गरी रहेको छ, त्यो स्तुत्य छ ।

म अहिले नै यसलाई उत्कृष्ट संस्थाको प्रमाणपत्र दिने पक्षमा छैन तर बाटो राम्रो समातेकोले ख़ुशी भएको छु । सबैभन्दा खुसीको कुरा यो संस्था धर्म, राजनीति, जातीयता, साम्प्रदायिकता आदि- इत्यादिबाट वञ्चित छ र संसारभर रहेका नेपालीहरूको पक्षमा काम गर्छ । यो अन्य कुनै संस्थाको सौता हैन । स्वतन्त्र रूपले काम गर्छ । त्यति धेरै चर्चामा नभएता पनि आफ्ना कार्यहरू गर्दै आएको छ । तर अपेक्षित रूपमा कार्य गर्न नसकेको कुरा मैले परीलक्षित गरेको छु । कारण थाहा पाउने प्रयास गर्दै छु ।

मेरो अनुरोध, सल्लाह र शुभेच्छा :
यो संस्था कसैको नियन्त्रण र प्रभावमा पर्नु हुँदैन । सम्बन्धित पदाधिकारीहरूले यथाशक्य तन, मन, धन, वचन र कर्मले सहयोग गर्नु पर्छ । कुनै पनि राजनीति र धर्मको पक्षमा वकालत गर्नु हुन्न । जो सुकैलाई सदस्यता दिनु हुन्न । सामाजिक पृष्ठभूमि, आचरण, व्यवहार र अनुशासनलाई हेरेर असल र सामाजिक व्यक्तित्वहरूलाई खोजी खोजी स्थान दिनु पर्छ । पारदर्शी र जिम्मेवार हुनु पर्छ । आर्थिक कारोबारलाई सबैका सामु राखी दिनु पर्छ । पुरस्कार र दण्डको व्यवस्था गरिनु पर्छ ।

अन्य कुनै संस्थाको प्रतियोगी नभई परिपूरक हुन सक्नु पर्छ । कसैको आलोचना नगरी आफ्नो विधान र नियम- कानुनले दिए बमोजिम कार्य गर्दै जानु पर्छ । यसलाई कसैले पनि कमाई खाने भाँडोको रूपमा प्रयोग गर्नु हुन्न । केवल पद, पावर र प्रतिष्ठाको लागि नभई सेवा गर्ने संस्थाको रूपमा अघि बढाएर लैजानु उपयुक्त देखिन्छ । यो संस्थालाई बदनाम गर्ने, नाजायज फाइदा लिने कुतत्वहरूबाट सचेत हुनु पर्छ ।

अन्त्यमा, यो संस्थालाई मेरो हार्दिक मङ्गलमय शुभकामना छ तर कार्यक्रमका गतिविधिहरूलाई सबै सामु राखी दिनु वाञ्छनीय छ ।