अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५९ | Colorodo: 09:14

विदेशमा रहेका नेपालीको भिसा थपिदिन सबै देशलाई परराष्ट्र मन्त्रालयले पत्र पठायो

बिआरटीनेपाल २०७६ चैत ७ गते ८:४५ मा प्रकाशित

कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागि विदेशमा रहेका नेपालीको भिसा अवधि सकिए पनि स्वदेश फर्किन रोक लगाउने सरकारको निर्णयले अन्यौलता सिर्जना गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका प्रवक्ता नारायण विडारीले विहीबारको पत्रकार सम्मेलनमा भिसा सकिएका नेपालीलाई समेत अप्रिल १२ सम्म नेपाल प्रवेशमा रोक लगाएको बताउनुएको थियो ।

सरकारले बुधबार खाडीसहित ५५ मुलुक र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको थियो । यसका कारण विदेशमा बस्ने भिसा सकिएर नेपाल आउन चाहने व्यक्तिलाई अप्ठ्यारो परेको छ । तर सरकारले संक्रमित भएका वा बिरामी परेकालाई देशबाट निकाल्न नपाइने विश्व स्वास्थ्य संगठनको सिद्धान्तअनुसार सबैलाई त्यो अवधिसम्म सोही स्थानमा रहन भनेको छ ।

सरकारको उक्त निर्णयप्रति गैरआवासीय नेपाली संघ (एनआएनए) ले भने आपत्ति जनाएको छ । भिसा सकिएकालाई पनि नेपाल फर्किन रोक लगाउने निर्णय अव्यवहारिक भएको संघको ठहर छ । काठमाडौंमा बिहीबार एनआरएनए अध्यक्ष कुमार पन्तको संयोजकत्वमा बसेको उच्चस्तरीय अनुगमन समितिको बैठकले कोरोनाको महामारीका कारण विदेशमा रहेका नेपालीलाई नेपाल फर्कन लगाएको रोक व्यवहारिक नभएको निष्कर्ष निकालेको थियो ।

नेपाल सरकारले यो समस्या विश्वव्यापी भएकाले कतिपय देशका पर्यटक अवैध भएर बसेका भन्दै विदेशमा रहेका नेपाली कामदारको भिसा अवधि सकिए सम्बन्धित देशको सरकारसँग पहल गर्न परराष्ट्र मन्त्रालयलाई जिम्मेवारी दिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले यो बीचमा भिसा अवधि सकिनेहरुका लागि नेपाल सरकारले सम्बन्धित देशमा रहेका नेपाली दूतावासमार्फत भिसा अवधि थपिदिन अनुरोधपत्र पठाएको बताउनुभएको छ ।

यस्तै, नेपालमा रहेका विदेशीहरुको कदाचित भिसा अवधि सकिएर अप्ठ्यारो पर्यो अवस्था आए त्यसलाई थपिदिने सरकारले निर्णय लिएको प्रवक्ता पौडेलको भनाइ छ । यसलाई नेपालको मात्र समस्या हो भनेर माइक्रो लेबलमा ल्याउने पर्ने आवश्यकता नरहेको प्रवक्ता पौडलले बताउनुभयो ।

वैदेशिक रोजगार विभागले सरकारले तोकेको दिनभन्दा अघि नेपाल नआउन कामदारलाई आग्रह गरिसकेको छ । यता, समितिका प्रवक्ता विडारीले पनि यस्तो अवस्थामा सकैले पनि आफ्नो मुलुकबाट नागरिकलाई निकाल्न नमिल्ने बताउनुहुन्छ । नेपालले पनि आजदेखि विदेशी पर्यटकलाई पदयात्रामा रोक लगाएको छ । नेपाल पर्यटन बोर्डले आजैबाट पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स)कार्ड वितरण बन्द गरेको हो । यससँगै अब विदेशी नागरिकले नेपाली पदयात्रा मार्गमा पदयात्रामा जान पाउने छैनन् । कोरोनाबाट जोगिन चैत मसान्तसम्म विद्यालय, कलेज, सिनेमा हल, जिम र डान्सबार बन्दको घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू