अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

कोरोना संक्रमण : एनआरएनएले बोलायो आकस्मिक बैठक

बिआरटीनेपाल २०७६ चैत ५ गते २३:०९ मा प्रकाशित

लन्डन । विश्वव्यापी प्रकोप बनेको नोभेल कोरोना भाइरसको नेपालमा सम्भावित संक्रमण र विस्तार रोक्न गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले आकस्मिक बैठक बोलाएको छ ।

राष्ट्रिय समिति, आइसिसी र स्वास्थ्य विज्ञहरूको संयुक्त बैठक आगामी शनिवार (साँझ ६:४५ नेपाल समय) हुन् लागेको महासचिव डा हेमराज शर्माले जानकारी दिए । सङ्घका विश्वभर ८१ देशमा राष्ट्रिय समिति रहेका छन् ।

यसै बिच सङ्घद्वारा गत आइतबार गठित उच्चस्तरीय समितिको बैठक भोलि बिहीबार बस्ने भएको छ । यसअघि सङ्घले एनआरएनए अध्यक्ष कुमार पन्तको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समिति गठन गरेको थियो । उच्चस्तरीय समितिको सल्लाहकारमा नेपाली काँग्रेसका नेता गगनकुमार थापा र पूर्व शिक्षामन्त्री डा गङ्गालाल तुलाधर रहेका छन् ।

बैठक देशमा आइपर्ने विपत्तिका बारेमा दीर्घकालीन गुरु योजना तयार गर्नेलगायत, सचेतना मूलक सामाग्री तयार गर्ने , वैदेशिक रोजगारमा गएका नेपालीको सहयोगको लागि नेपाली भाषामा प्रचार सामाग्री तयार गर्ने, महामारीको अवस्थामा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गर्ने, तत्कालका लागि कोरोना संक्रमणविरुद्ध लड्न आवश्यक सामाग्री उपलब्ध गराउने, नीतिगत तहमा विदेशमा सिकेको ज्ञान र सिपलाई नेपाल सरकारसम्म पुर्‍याउने लगायतको अजेण्डमा केन्द्रित हुने छ ।

चीनमा महामारीको रूपमा फैलिएको नोवल कोरोना भाइरस विश्वका धेरै देशमा फैलिएपछि विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य सङ्कटकाल घोषणा गरेसँग मातृभूमिलाई सहयोग गर्न एनआरएनएले समेत आफ्नो सक्रियता देखाएको हो ।

सङ्घले यसअघि आफ्ना शाखालाई नोवल कोरोना भाइरसको संक्रमण रोक्न र सजक हुन निर्देशन दिइसेको छ । सङ्घका आन्तरिक विषयमा छलफल गर्न अन्तर्राष्ट्रिय परिषद्को बैठक आगामी २२ मार्चको लागि तय गरिएको सङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू