अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५९ | Colorodo: 14:14

पेट्रोलियम पदार्थ र ग्यासको कृत्रिम अभाव गराउनेलाई कारबाही गरिने

बिआरटीनेपाल २०७६ चैत ५ गते ९:१५ मा प्रकाशित

नेपाल आयल निगमले ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराउने विक्रेता एवं ढुवानीकर्तालाई कडा कारबाही गर्ने भएको छ । आज एक विज्ञप्ति जारी गर्दै निगमले उपभोक्ताको माग बमोजिम पेट्रोल, डिजेल तथा ग्यासको सहज आपूर्ति भएको जनाएको छ । यस्तै निगमले उपभोक्तालाई पनि घरमा हल्लाको पछि लागेर आवश्यक भन्दा बढी ग्यास तथा पेट्रोलियम पदार्थ भण्डारण नगर्न आग्रह गरेको छ ।

आम उपभोक्ता वर्ग, हल्लाको पछि लागेर अत्यन्त प्रज्वलनशील पदार्थको भण्डारण नगर्नु हुन तथा आवश्यक भन्दा बढी ग्यासको सिलिण्डर घरमा सुरक्षा एवं आगजनीको दृष्टिकोणमा समेत असुरक्षित हुने भएकोले सञ्चय नगर्नु हुन समेत हार्दिक अनुरोध गर्दछौं, निगमले विज्ञप्तिमा भनेको छ ।

यसैबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आज काठमाडौं उपत्यकाका विभिन्न पेट्रोल पम्प, ग्यास उद्योग, ग्यास डिलर तथा कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गर्नुभएको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलने त्रासले व्यापारीले कालोबजारी गरेको गुनासो बढ्न थालेपछि मन्त्री भट्टले बजार अनुगमन गर्नुभएको हो । मन्त्री भट्टले पुल्चोक, जावलाखेल, कुमारीपाटी, महालक्ष्मीस्थान, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी, टेकु, त्रिपुरेश्वरलगायतको ठाउँमा झण्डै दुई दर्जन पेट्रोल पम्पमा अनुगमन गर्नुभएको छ ।

अनुगमनका क्रममा अधिकांश पेट्रोल पम्पमा नियमित रुपमा आपूर्ति र खपत भएको पाइएको छ । तर नाकाबन्दीको बेलाजस्तो न्यून आपूर्ति हुने डरले उपभोक्ताले चाहिनेभन्दा बढी स्टक राख्न थालेपछि आपूर्तिमा समस्या देखिएको पनि मन्त्री भट्टले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू