अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४६ | Colorodo: 11:01

आतंक छोडौँ

स्पन्दन बिनोद २०७६ चैत ३ गते २२:०५ मा प्रकाशित

कविता

छन्द: शार्दूलबिक्रीडित छन्द

लाखौ लाख अभाव छन् जगतमा, हिंस्रक छन् मानिस
कोरोना कति फैलदैछ अहिले, मानौ यही हो बिष
मर्दैछन् दिनमै कयौ सहज नै, खाने कुरा कारण
यौटा रोग भए निदान किन हो, आतंक हुन्छन् क्षण ।।१।।

शैया छैन् अब अस्पताल भरमा, कस्को हुने हो भलो
आफै प्रेरक फैलियो भ्रम यहाँ, रोगी भयो यै थलो
खेलौना डरले कुदेन भन या, औजार भागे भन
हातैमा नभए त रोग नि कुनै, सर्दैन बिना कारण ।।२।।

के सन्त्राश फुकेर बेलुन धरी, छोड्छौ र बस्ती भरी
तिम्रै कारण हुन्छ संक्रमण यो, छेकिन्छ के के गरी
पैशा छन् उपचार छैन् त कसरी, बाँच्छौ भिखारी जन
भै सन्तुष्ट कहाँ समाज उभियो, बाटो नमोडीकन ।।३।।

मान्छेका सब पीर आहतहरू, मान्छे बने लोकमा
एक्लै हो हर दु:खमा बहकिने, यो जिन्दगी भोकमा
चाहिन्छन् भयका पहाड कहिले, ढुंगा बजार्ने भए
छाती बल्दछ साथ छुट्न सकिने, सम्बाद मात्रै रहे ।।४।।

आँधीझै मन ढल्दछन् निदनमा, काला बनी बादल
हल्ला हो बिष कालकूट सरहै, बेकार हो मादल
शैय्यामाझ असत्य दुख्छ मुटुमा, मैत्री बनौ हुन्न र
राम्रो बात बजारमा छरिदिए, अन्मोल त्यै हुन्न र ।।५।।

धेरै त्रास छ भित्र भित्र मुटुमा, बाँच्ने खुशी छौ कहाँ
आफ्नै घाट चिता अचानक भए, आफ्नै हुने को यहाँ
फैलाएर झुटो बिचार र बिधा, पुग्ने उचाई कता
अर्काको हर शोकमा छन खुशी, को दुष्ट हो त्यो बता ।।६।।

जिन्दाबाद ! मकान ताप्न सपना, उल्टो भिरेकाहरू
जिन्दाबाद! अभाव सेक्न थलमा, लुट्दै छिरेकाहरू
हौ आवाद भिरेर नौ ग्रह दशा, बालेर छाती पनि
काँटी बाल्नु उज्याल्न रात तर के, छेक्छौ र मेरो भनी ।।७।।

ए काला धनका निदाल जन हो, फुक्दै बसेका कति
पूजारी बहुमूल्य रत्न सुनका, ढुक्दै बसेका कति
लास्मै घातक राजनीति छ हदै, धिक्कार तिम्रो मति
कस्ले देख्छ सिनोसरी सडकमा, सड्यौ भने दुर्गति ।।८।।

जस्तो आपत होस् मिलेर खतरा, मोल्ने खुशी छन् सधैँ
भोकै बस्न तयार आज पसले, बाड्दै खुशी हुन् अझैँ
कप्टी खेल न होस् कतै प्रगतिका, ठेला चुसी दानब
हत्केला भर ओखती सरह होस्, सत्साधना होस् अब ।।९।।

लाग्दा प्यास हजार हात नलका, जुट्नेछ पानी भरे
यौटा ज्यान म आहुती दिन सकूँ, के हुन्छ आफै मरे
ढिक्का हौँ परिवारमा सकल नै, माला बनौँ फूलको
टुक्रा गर्दछ को सुरम्य पहरा, भाई बने यै कूलको ।।१०।।

प्रतिक्रिया