अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४४ | Colorodo: 03:59

कोरोना असर– पर्यटन व्यवसायी थलिएपछि सरकारद्वारा राहतको प्याकेज ल्याउने प्रतिबद्धता

बिआरटीनेपाल २०७६ चैत ३ गते ८:३४ मा प्रकाशित

सरकारले कोरोना भाइरस कोभिड १९ का कारण पर्यटन व्यवसायमा परेको समस्याको जानकारी दिन पर्यटन व्यवसायीलाई आग्रह गरेको छ । भाइरसका कारण पर्यटन क्षेत्र नै ओझेलमा परेपछि सरकार गुहारेका व्यवसायीलाई सरकारले आर्थिक नोक्सानी र समस्या दुई दिनभित्र पर्यटन मन्त्रालयमा पेश गर्न आग्रह गरेको हो । आज पर्यटन व्यवसायीसँग भएको छलफलमा उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलल आफ्ना समस्याहरु स्पष्टसंग राख्न व्यवसायीलाई आग्रह गर्नुभयो ।

उहाँले भावनात्मक रुपमा भन्दा पनि प्राथमिकताका आधारमा पर्यटन व्यवसायमा परेका समस्याहरु पर्यटन मन्त्रालयसंगको सहकार्यमा सरकारलाई उपलब्ध गराउनुपर्ने बताउनुभयो । समस्याका आधारमा उच्चस्तरीय समितिले पर्यटन व्यवसायीलाई राहतको प्याकेज ल्याउने प्रतिबद्धता समेत जनाउनुभयो ।

छलफलमा होटल व्यवसायीले मासिक १ अर्ब ८० करोड रुपैयाँको नोक्सानी व्यहोर्दा बैंकको किस्ता भुक्तानी गर्न नसक्ने अवस्था आएको बताएका थिए । यस्तै, वायुसेवा सञ्चालकहरुले हेलिकोप्टर व्यवसायमा ९० प्रतिशत, सर्ट टेकअफ स्टलमा ६० प्रतिशत र ट्रंकरुटमा २० प्रतिशत सम्मको बिजनेस घटेको गुनासो राखेका थिए ।

छलफलमा व्यवसायीहरुले छोटो समयमा देखिएको संकटले व्यवसायिक क्षेत्रमा एक दुई वर्षसम्म असर पार्न सक्ने भन्दै सरकारले सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया