अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३६ | Colorodo: 23:51

पोखरामा गीतकार प्रतिष्ठान गठन

बिआरटीनेपाल २०७६ चैत २ गते १२:०३ मा प्रकाशित

पोखरा । पोखराका गीतकारहरू सङ्गठित भएका छन् । पोखरामा क्रियाशील गीतकारहरूको भेलाले गीतकार हरिहर खनियाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति रहेको गीतकार प्रतिष्ठान नेपाल गठन गरेसँगै उनीहरू सङ्गठित भएका हुन् ।

लमजुङमा जन्मेर २ दशकभन्दा लामो समयदेखि पोखरामा गीतकारका रूपमा क्रियाशील खनियाको ‘दोष’ एल्बमका ‘मैले बा आमा त्यागेर रोजेको मायाले मलाई धोका दिई…., सबको पिरतीमा दरबार हुन्छ…’ लगायत गीत चर्चित छन् । समितिको उपाध्यक्षमा ‘मबिना कसै कसैलाई मुस्किल छ पोखरामा ….’ का गजलकार÷गीतकार शीतल गिरी, महासचिवमा ‘नानीको चञ्चले बानीले बिगा¥यो…., कहिले फूल बनी फक्रेर फुलूँ भन्छ मन…’ लगायत गीतका गीतकार अनुराग अधिकारी चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा बिर्सना बस्नेत, सचिवमा रुपिन्द्र प्रभावी तथा सदस्यहरूमा रेसम रचक, देवी त्रिपाठी, मिर्मिसा पराजुली, जीवन पण्डित, प्रकाश अधिकारी र लाल कार्की ‘अञ्जान’ चयन भएका छन् ।

यसै बिच, प्रतिष्ठानको बैठकबाट सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, डा. कृष्णहरि बराल र हरिदेवी कोइरालालाई सल्लाहकार चयन गरिएको छ । प्रारम्भिक चरण भेलामा उपस्थित गीतकारहरूमध्येबाट समिति गठन भएको र आगामी दिनमा पोखरा र पोखराबाहिर क्रियाशील विभिन्न गीतकारहरूलाई संस्थामा समेट्दै अघि बढ्ने योजना रहेको महासचिव अनुराग अधिकारीले जानकारी दिए । ‘संस्थामा हाल समेटिएकाभन्दा बाहिर धेरै गीतकारहरू छन्’ अधिकारीले भने, ‘संस्थाप्रति सकारात्मक सोच भएका सबै गीतकारहरूलाई क्रमशः आबद्ध गरिने छ ।’

विभिन्न विधागत संस्थाहरू स्थापना भइसकेको पोखरामा गीतसम्बन्धी विधागत संस्थाको आवश्यकता बोध भएर यो अभियानमा लागेको अध्यक्ष हरिहर खनियाले बताए । उनका अनुसार गीतकारको हक, हितका लागि कार्य गर्ने, गीतकारको अस्तित्व र पहिचानको खोजी गर्ने लगायतका उद्देश्य रहेको प्रतिष्ठान कुनै संस्थाको शाखा नभई स्वायत्त संस्था हो ।

प्रतिक्रिया